द सिनेमा टाइम्स, काठमाडौं । नेपाल चलचित्र संघ र सेभेन सिज सिनेमा आमनेसामने भएका छन् । ‘पूर्णबहादुरको सारंगी’को कलेक्सन रिपोर्ट फेक भएको भन्दै सभेन सिजले २० वटा हलको नाम सार्वजनिक गरेको थियो ।
त्यसपछि सिनेमा हलहरूको संस्था चलचित्र संघले विज्ञप्ति जारी गर्दै संघका सदस्यहरूको मानमर्दन गरेको भन्दै हलहरूले बक्सअफिस रिपोर्ट लुकाएको प्रमाण देखाउन चुनौती दियो । होइन भने माफी माग्न चेतावनी दियो ।
हचुवाका भरमा संघका सदस्यको मानमर्दन नगर्न चेतावनी दिएको थियो । बक्सअफिसको हिसाव अथवा रिपोर्ट माग्ने अधिकार निर्मातालाई नभएर वितरकसँग मात्रै रहेको संघले बताएको थियो । अधिकारबाहिर गएर बक्सअफिस रिपोर्ट माग्नु नै गलत भएको संघले बताएको थियो ।
यतिमा मात्रै सेभेन सिज सिनेमा र संघ रोकिएनन् । सेभेन सिज सिनेमाले शनिबार विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा प्रष्टसँग उल्लेख नगरे पनि हिन्दी सिनेमालाई प्रदर्शकले प्राथमिकता दिँदा ‘पूर्ण बहादुुरको सारङ्गी’ले शो नपाएको र पाएका स्क्रिन पनि सानो रहेको बताइएको थियो । सोही विज्ञप्तिमा सोमबारबाट देशभरबाट ‘पूर्ण बहादुुरको सारङ्गी’ उतार्ने उल्लेख गरिएको थियो ।
यसपछि फेरि संघ बोल्यो । अधिकारक्षेत्र बाहिर गएर सेभेन सिज सिनेमाले अधिकार खोज्ने प्रयास गरेको र त्यो नै गलत भएको सेभेन सिज सिनेमालाई चलचित्र संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संघ यतिमा मात्रै रोकिएन, सेभेन सिज सिनेमाले निर्माण गरेका र वितरण गरेका सिनेमा प्रदर्शन नगर्ने चेतावनी दियो ।
फेरि पनि संघले पुरानै विषय उठान गरेको छ । सेभेन सिज सिनेमाले चलचित्र संघको मानमर्दन गरेको, अधिकार बाहिर गएर अरुको अधिकार खोस्न खोजेको कुरा विज्ञप्तिमा उल्लेख छ । वितरकसँग रहेको अधिकार निर्माताले आफूले प्रयोग गर्न खोजेको संघको आरोप छ । सिनेमा घरमा प्रदर्शकले सिनेमा वितरक मार्फतमात्र सिनेमा प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको भन्दै संघले सेभेन सिज सिनेमालाई सचेत गराएको छ ।
‘सिनेमा प्रदर्शकको सिनेमा व्यवसायको सरोकार सिनेमा वितरकसंग मात्र रहन्छ । सिनेमा वितरक सिनेमा प्रदर्शनको आधिकारिक संस्था हो,’ संघले विज्ञप्तिकमा उल्लेख जारी गर्दै भनेको छ, ‘सिनेमा, सिनेमा घरमा प्रदर्शन गर्ने नगर्ने सम्पूर्ण अधिकार सिनेमा वितरकमा निहीत रहन्छ । कानुनतः सिनेमा प्रदर्शकले सिनेमाको व्यवसायिक विषयमा सम्बन्धित सिनेमा वितरकसँग मात्र सरोकार राख्छ ।’
सिनेमा निर्माण पक्षको व्यवसायिक प्रतिनिधि सिनेमा वितरक रहेको पनि संघले प्रष्ट पारेको छ । मिति २०८१ साल मंसिर २३ गते सेभेन सिज सिनेमाले नेपाली ‘पूर्ण बहादुरको सारङ्गी’को सिनेमा प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
‘सिनेमा घरमा प्रदर्शकले सिनेमा बितरक मार्फतमात्र सिनेमा प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको छ । यो नियमले सिनेमा प्रदर्शकको सिनेमा व्यवसायको सरोकार सिनेमा वितरकसंग मात्र रहन्छ । सिनेमा बितरक सिनेमा प्रदर्शनको आधिकारिक संस्था हो’, विज्ञप्तिमा उल्लेख छ, ‘सिनेमा, सिनेमा घरमा प्रदर्शन गर्ने नगर्ने सम्पूर्ण अधिकार सिनेमा वितरकमा निहित रहन्छ । कानुनतः सिनेमा प्रदर्शकले सिनेमाको व्यवसायिक विषयमा सम्बन्धित सिनेमा वितरकसंग मात्र सरोकार राख्दछ ।’
कानुनभन्दा बाहिर गई सेभेन सिज सिनेमाले नेपाल चलचित्र संघका सदस्यहरुको, विज्ञप्ति मार्फत पटकपटक मानमर्दन गर्ने कार्य गरेको भन्दे संघले खेद प्रकट गरेको छ । यस्तो कार्य नेपाल चलचित्र संघलाई कदापि सहय हुन सक्दैन ।
‘विगतमा पनि यस किसिमको कार्य हुँदै आएकोमा अब उप्रान्त यस किसिमको कार्य नगर्न हुन समेत सचेत गराउदछौँ । साथै बिना कारण नेपाल चलचित्र संघका सदस्यहरुको मानमर्दन हुने कार्य र अपमान नेपाल चलचित्र संघलाई कदापि सह्य हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल चलचित्र संघ यस्तो कार्यको बिरोध गर्दै जुनसुकै कदम चाल्न बाध्य हुनेछौं र यसको सम्पूर्ण जिम्मेवारी स्वयं निर्माता कै हुनेछ । प्रदर्शकसँग कुनै किसिमको गुनासो भए आफ्नो सिनेमा वितरक मार्फत प्रस्तुत हुन समेत आग्रह गर्दछौँ ।’
पारदर्शिता, र आफ्नो अधिकार क्षेत्रको विषयमा एकले अर्कोमाथि शंका गर्दा पटकपटक निर्माता, वितरक र प्रर्दशक आमनेसामने हुने गरेका छन् ।



प्रतिक्रिया