द सिनेमा टाइम्स, काठमाडौं । विश्वव्यापी आक्रामक व्यापार गरिरहेको दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’ सवैभन्दा छिटो एक हजार करोड क्लवमा प्रवेश गर्ने भारतीय सिनेमा बनेको छ । यो सिनेमाले प्रदर्शनको ६ दिनमा नै विश्वभरबाट एक हजार २ करोड ग्रसकलेक्सन गरेको छ ।
हिन्दीमा मात्रै यो सिनेमाले ७ दिनमा ४ सय करोड क्लवमा प्रवेश गर्ने सिनेमाको रेकर्ड आफ्नो नाममा लेखाएको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले यो सिनेमाले प्रदर्शनको पहिलो हप्तामा ४ करोड कमाएर नयाँ रेकर्ड बनाएको उल्लेख गरेका छन् । भारतमा मात्रै नभई यो सिनेमाले नेपाली बक्सअफिसमा पनि आक्रामक व्यापार गरिरहेको छ ।
यो सिनेमा पहिलो हप्तामा नेपालमा पनि झण्डै १६ करोड व्यापार गरेको रिपोर्ट वितरकले सार्वजनिक गरेका छन् । ‘पुष्पा २’ले नेपाली बक्सअफिसमा पहिलो ७ दिनमा १५ करोड ९० लाख ग्रसकलेक्सन गरेको वितरक कम्पनी ए एट्, डिसिएन र आरआर फिल्मस्ले जानकारी दिएका छन् । मंहगो मुल्यमा नेपाल भित्रिएको यो सिनेमाले लगानी उठाउन मात्रै २२ करोड ग्रसकलेक्सन गर्नु पर्ने भनाई वितरकहरुको छ ।
सुकुमारको निर्देशन तथा लेखनमा निर्माण भएको सिनेमामा अल्लू र फहादसहित रश्मिका मन्दाना, सुनिल बर्मा, धनन्जय, जगपति बाबू, अनसुया भारद्वाज लगायतको अभिनय छ । ५ सय करोड भारुमा निर्माण भएको सिनेमाले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया