द सिनेमा टाइम्स, काठमाडौं । सांगीतक प्रस्तुतिका चर्चित बलिउड गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गायक निगमलाई आयोजक टिमले स्वागत गरेको हो ।
बुधबार बेलुका अर्थात् आज सोनुले हायात रिजेन्सी होटलको मैदानमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’मा प्रस्तुति दिँदैछन् । काठमाडौं ओर्लिएसँगै मिडियाकर्मीसँगको कुराकानीमा उनले नेपाली दर्शक तथा श्रोतामाझ प्रस्तुति दिनका लागि आफू उत्साहित रहेको बताएका थिए ।
गायक निगमलाई स्वागत गर्न कमेडियन सन्दीप क्षेत्री पनि विमानस्थल पुगेका थिए । उनले ढाकाटोपी लगाइदिएर सोनुलाई नेपालमा स्वागत गरका हुन् । कन्सर्टमा दर्शकका लागि ४ बजे गेट खुल्नेछ । सोनु ७ बजे स्टेज चढेर आफ्नो प्रस्तुतिमार्फत दर्शक झुमाउने छन् । उनले भारतीयसहित केही नेपाली गीत समेत गाउने आयोजकले जानकारी दिएको छ ।
नेपाली–टच नेपालले क्रिसमसको अवसर पारेर यो कन्सर्ट आयोजना गरेको हो । नेपाली टचले विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो । निगम विहिबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले विहिबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।


प्रतिक्रिया