द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा सहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लुओडी) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागी उत्कृष्ट मानिने यो फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्राएको हो ।
वर्ल्ड अफ डान्स नेपालको छनोट आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जुरी टिम, ट्रफिसँगै बिजेताले पाउने पुरस्कार राशीका बिषयमा जानकारी गराइयो । यसमा देशभरबाट आवेदन परेका डान्सरहरुले बिभिन्न चरण पार गर्दै बिजेता बन्ने छन् ।
अहिलेसम्म डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ । यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन हो । जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै बिजेता छनौट गरिनेछ । बिजेता टिमले अमेरिकामा यहि २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन् । जसमा २५ देशका बिजेताहरु बिच प्रतिस्पर्धा हुनेछ ।
यो शोमा सहभागी हुने टिमहरुलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समुहका डान्सरले सहभागी हुन पाउनेछन् । एकजना, दुईजना, तीनजना अथवा चारजनासम्मको ग्रुपमा समेत एक टिम बनेर डान्स गर्न पाउनेछन् । दोस्रो सिनिअर टिम डिभिजन, यसमा १८ बर्ष भन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिम डिभिजन, यसमा १८ बर्ष भन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् ।
डब्लुओडीका सहभागी तीन डिभिजनकै बिजेताले एक/एक लाख नगद पुरस्कार पाउनेछन् । अमेरिकामा हुने डब्लुओडीमा सिनियर र जुनिअर टिम डिभिजनमा बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउनेछ ।
आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लुओडीजस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन् । यो शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् । शोको इभेन्ट कन्सल्टेन्टको रुपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् ।


प्रतिक्रिया