‘ममी’ले तर्साउने मात्रै होइन समाजका धेरै विकृतीलाई देखाउने छ : प्रियंका कार्की

‘ममी’ले तर्साउने मात्रै होइन समाजका धेरै विकृतीलाई देखाउने छ : प्रियंका कार्की

हरर सिनेमाको स्क्रिप्ट राम्रो हुने भएपनि फ्लोरमा गएपछि धेरै कम्प्रमाइज गरिँदा बिग्रने गरेको छ । स्क्रिप्टको २० प्रतिशत पनि स्क्रिनमा नआउने उनको दाबी छ ।

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’ आगामी माघ २५ गतेबाट प्रदर्शन आउने तयारीमा छ । यो सिनेमाको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको थियो ।

सिनेमा गीत रिलिज कार्यक्रममा पुगेकी अभिनेत्री कार्कीले सिनेमाको विषयमा बोल्दै नेपालमा हरर सिनेमाको स्क्रिप्ट जति पढ्दा र सुन्दा उत्साहित भइन्छ, त्यति हेर्दा भएन भने हामी तर्सिँदैनौं । हरर सिनेमामा सबैभन्दा महत्त्वपूर्ण भनेको साउन्ड, छायांकन र भिएफएक्स हो । भिएफएक्स धेरै खर्चिलो हुन्छ । सोचेअनुरुप भिएफएक्स गर्न सक्दैनौं । तर, हरर सिनेमामा साउन्ड जुन किसिमको चाहिन्छ, त्यो एकदमै फिक्का भइरहेको हुन्छ ।

त्यसैले त प्रियंका आफैंले काम गरेका हरर सिनेमाबाट खुसी हुन सकेकी छैनन् । आफ्ना हरर सिनेमाले आफैंलाई तर्साउन नसकेको उनको अनुभव छ । हरर सिनेमाको स्क्रिप्ट राम्रो हुने भएपनि फ्लोरमा गएपछि धेरै कम्प्रमाइज गरिँदा बिग्रने गरेको छ । स्क्रिप्टको २० प्रतिशत पनि स्क्रिनमा नआउने उनको दाबी छ । हरर सिनेमामा सबैभन्दा महत्त्वपूर्ण साउन्ड, भिएफएक्स र छायांकन हुने बताउँछिन् । जसले गर्दा यसअघि काम गरेका कुनैपनि हरर सिनेमाले व्यावसायिक सफलता पाउन र तर्साउन असफल भएको उनको बुझाई छ ।

प्रियंका आफ्ना हरर सिनेमाले दर्शक नतर्साउँदा आफ्नो प्रतिष्ठा नै खराब भइरहेको बताउँछिन् । ‘मैले धेरै हरर सिनेमा गरिसकेको छु । अप्रोच गर्दाखेरि यसरी गर्छौं, नयाँ शैलीमा गर्छौं भन्नुहुन्छ । तर, आफैंले गरेको हरर सिनेमा हलमा हेर्दा आफैंलाई डर लाग्दैन । यसैले पनि एउटा तर्सिने सिनेमा चाहिँ गर्नुपर्छ भन्ने भइरहेको थियो । किनकि, मेरो प्रतिष्ठा नै खराब हुन लागिसक्यो ।’

सिनेमाको गीत रिलिज कार्यक्रममा बोल्ने क्रममा आफुले ‘ममी’का निर्देशक समर निरौलालाई डराउनुपर्ने दृश्यमा दर्शक नहाँसुन् भनेर छायांकनको बेलादेखि आफूले सजग गराएको बताइन् । ‘मैले निर्देशकलाई साउन्ड र भीएफएक्स राम्रो हुनुपर्छ भनेर भनिरहेको छु । डराउनुपर्ने ठाउँमा नहाँसुन् भनेर सजग गराइराखेको छु । किनकि, धेरै हरर सिनेमामा काम गरेकाले मलाई यो चिजको ट्रमा छ,’ उनी भन्छिन् । यो सिनेमाले सिनै पिच्छे तर्साउने मात्रै नभई समाजका धेरै पाटालाई नजिकबाट नियाल्ने मौका समेत दिने प्रियंकाको दाबी छ ।

समर निरौलाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रियंकासँगै दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।