द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राई सुटिङ सेटमा थिए । झाँक्रीको रोल थियो त्यसैले धामी बसिरहेका थिए । बाहिर आगनमा आगो बलिरहेको थियो । आकाशमा कालो बादल मडारिएर पानी परिहाल्ला जस्तो थियो । त्यसैले चाँडै छायांकन सक्नुपर्ने दबाबमा निर्माण टिम थियो ।
तर, झाँक्रीहरू भनिरहेका थिए आत्तिनु पर्दैन । हामीले छायांकन नसकिउन्जेलका लागि पानी रोकिदिएका छौँ भनिरहेका थिए । दयाहाङले सोधे आकाशबाट पर्ने पानी पनि रोक्न मिल्छ ? उनीहरूले भने, रोक्नै त मिल्दैन, तर केही पर सार्न मिल्छ ।
चिर्पट जलेर सबै कोइला भयो । धामीले मन्त्र पढेर सके । दयाहाङ अब त्यही कोइलामा नाच्नुपर्ने भयो । दयाहाङलाई सिनेमा हो चिट भइहाल्छ भन्ने लागेको थियो । तर, सबैले ल अब आगोमा पस्नुपर्छ भन्न थाले । निर्देशकले पनि खासै केही हुँदैन भन्न थाले । उनलाई भने डर लागिरहेको थियो ।
धामी आगोमा नाचेको त उनले सुनेका थिए । तर, धामी पो नाच्थे त दयाहाङ त धामी थिएनन् । अभिनेता थिए । सिनेमाका लागि अभिनय गरिरहेका थिए ।
स्क्रिप्ट अनुसार उनी आगोमा पस्नै पर्ने भयो । जे त होला सुरुमा आगोमा पसेर ट्राई गर्छु, पोल्यो भने निस्किन्छु भन्ने सोचेर उनी पसे । उनले धामी अनुभव सुनाए, ‘रातो आगोमा पसेर नाच्दा पनि केही भएन । म आफैँ चकित भएँ । जिन्दगीमै पहिलो पटक नयाँ अनुभव भयो ।
‘सुटिङ हुन्जेललाई पानी सारिदिएका छौँ, पानी पर्दैन भनेर झाँक्रीले जे भनेका थिए, त्यस्तै भयो । उनले सुनाए, ‘हामीले सुटिङ प्याकअप गरेर लुगा पनि चेन्ज गरिनसक्दै पानी पर्न थाल्यो ।’ त्यसैले उनी झाँक्री विद्या लामो अभ्यास र अनुभवबाट प्राप्त ज्ञान भएको बताउँछन् ।
पुस २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कार्साङ’को मुख्य भूमिकामा दयाहाङ राई छन् । उनी यो सिनेमामा झाँक्रीको भूमिकामा छन् ।
सिनेमा ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।
सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको भनाइ छ । सिनेमामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतीमा बनेको यो सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन् ।


प्रतिक्रिया