सिनेमाको साउण्ड र कलर चेक गर्ने स्टुडियो बनाएर सहयोग गर्ने योजनामा विकास बोर्ड

सिनेमाको साउण्ड र कलर चेक गर्ने स्टुडियो बनाएर सहयोग गर्ने योजनामा विकास बोर्ड


द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा उद्योगमा सरकारले नेपाली सिनेमाको विकासका लागि केही गरेन भन्ने आरोप लाग्दै आएको छ । सरकारले नेपाली सिनेमाको स्तर उकास्न केही पनि काम नगर्ने गरेको सिनेमाकर्मीहरूले आरोप लगाउँदै आएका छन् ।

विकास बोर्डले सिनेमा दर्ता गर्ने र सञ्चार मन्त्रालयले सेन्सर गरेर प्रदर्शन गर्नका लागि इजाजत दिनबाहेक केही काम नगरेको निर्माता र निर्देशकहरूको गुनासो रहँदै आएको छ । त्यसैले कतिले त बोर्ड भन्ने संस्था नै खारेज गरेपनि हुने भन्नसम्म भ्याइसकेका छन् ।

तर, अब भने सञ्चार मन्त्रालय अन्तर्गत रहेको विकास बोर्डले नेपाली सिनेमाको स्तर उकास्ने गरी काम गर्ने योजना बनाएको छ । विशेषगरी नेपाली सिनेमाको प्राविधिक पक्षमा सहयोग गर्ने गरी काम गर्न लागेको बोर्डले बताएको छ ।

साउण्ड र कलरमा काम गर्न सहज होस भनेर बोर्डले कलर र साउन्ड चेक गर्न स्टुडियो बनाउने भएको छ । बोर्डको कार्यालयमै स्टुडियो बनाएर साउण्ड र कलर चेक गर्ने व्यवस्था मिलाउने तयारीमा बोर्ड रहेको बताइएको छ ।

‘हामी हाम्रो स्टुडियोमा साउण्डको ७.१ भर्सनको सेन्टरमा स्क्रिनमा बसेर काम गर्ने तयारीमा छौँ,’ बोर्ड अध्यक्ष दिनेश डिसीले भनेका छन्, ‘कलर करेक्सनका लागि पनि काम गर्दैछौँ । ६० फिट स्क्वायरको स्क्रिनमा साउण्ड र कलर करेक्सन हेरेर काम गर्ने व्यस्था गर्दैछौँ । यो अवस्थामा केही न केही प्राविधिक पक्षमा सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।’

सानो स्क्रिनमा र साउण्ड र कलर हेरेर करेक्सन गर्नु र ६० फिट स्क्वायरको स्क्रिनमा साउण्ड र कलर चेक गरेर करेक्सन गर्दा धेरै फरक पर्ने अध्यक्ष डिसीले बताएका छन् ।