द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पिताम्बर’मा अभिनेता प्रदीप खड्का एक्सन अवतारमा प्रस्तुत छन् । यसअघि लभस्टोरी र सामाजिक विषयवस्तुमा निर्माण भएका सिनेमामा काम गरेका प्रदीप पहिलो पटक एक्सन अवतारमा देखिएका हुन् ।
लभस्टोरी र सामाजिक कथाका सिनेमामा आफुलाई अब्बल प्रमाणीत गरिसकेका प्रदीपलाई एक्सनमा पनि सफल बनाउनु पर्ने चुनौती पनि उत्तिकै देखिन्छ । सोमबार सार्वजनिक ‘पिताम्बर’को टिजरबाट उनले त्यो सम्भावना देखाएका पनि छन् । सार्वजनिक टिजरबाट उनी सिनेमामा एक्सन अवतारमा रहेको खुलाएपनि उनको भुमिकाको विषयमा धेरै जानकारी दिइएको छैन् । जसले गर्दा सिनेमामा प्रदीपको क्यारेक्टरलाई लिएर कौतुहल्ता पैदा गर्ने देखिन्छ ।
उनले सिनेमाको सोमबार आयोजित टिजर रिलिज कार्यक्रममा ‘पिताम्बर’मा आफूलाई एक्सन अवतारमा देख्न पाइने बताए । आफूलाई सिनेमाको निर्माण टिम विशेषगरी निर्देशक कृषा चौलागाईं र सह-निर्माता तथा छायांकार पुरुषोत्तम प्रधानको लगनशीलताले नै ‘पिताम्बर’मा जोडेको प्रदीप खुलाए ।
‘यो सिनेमा सुन्दा नै मैले गरिरहेको भन्दा फरक लागेको थियो । त्यसका साथै निर्माण टिमले बनाउन खोजेको कन्टेन्ट र लगनशीलताले गर्दा मैले स्क्रीप्ट नसुनेर नै सिनेमा गर्न सहमति दिएको हुँ । किनकि यस किसिमको लगनशीलताले सिनेमा राम्रो र बनिरहेका भन्दा फरक बन्छ भन्नेमा म विश्वस्त थिएँ,’ उनले भने ।
यो सिनेमामा पात्रको स्वभाव नै द्वन्द्वात्मक भएको र एक्सन भनेको किक हानेर वेट लिफ्टीङ गरेर मात्रै नभएर कुनै एक पात्रलाई कर्नर गरियो भने त्यो पात्रले गर्ने फाइट ब्याक गर्नु मुख्य रहने अनि त्यही द्धन्द्वका रुपमा परिणत हुने बताए ।
कृषा चौलागाईंको निर्देशनमा निर्माण भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, दिव्या रायमाझी, सुपुष्पा भट्ट, गौरी मल्ल, रविन्द्र झा, कामेश्वर चौरसिया, टीका पहारी, गौरव विष्ट, सुरवीर पण्डितलगायतको पनि अभिनय छ । विशाल चौलागाईं निर्माता रहेको सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद लेखन छ ।
केपी फिल्मस्को प्रस्तुती अनि सुमन गौतम कार्यकारी निर्माता रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका सह-निर्माता पनि हुन् । यो सिनेमा नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।


प्रतिक्रिया