कृषाले गरिन् प्रदीपको तारिफ, भन्छिन्- मैले सोचेको हरेक एक्सन पहिलो सटमै पाएँ

कृषाले गरिन् प्रदीपको तारिफ, भन्छिन्- मैले सोचेको हरेक एक्सन पहिलो सटमै पाएँ


द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक कृषा चौलागाईंले रोमान्टिक र चरित्र अभिनयसँगै एक्सन सिनेमामा पनि प्रदीप खड्का उत्तिकै अब्बल रहेको बताएकी छन् । सोमबार टिजर रिलिज कार्यक्रममा कृषाले प्रदीपको अभिनय क्षमताको खुलेर तारिफ गरिन् ।

उनले आफूले सोचेजस्तै एक्सन प्रदीपले सिनेमामा दिएको बताइन् । एक्सन सिनेमामा पनि प्रदीपले आफूलाई ‘पिताम्बर’बाट प्रमाणित गर्ने कृषाको दाबी छ ।

प्रदीपले हरेक सट आफूले भनेजस्तो दिएको उनको भनाइ छ । आफूले जस्तो सोच्यो त्यस्तै सट प्रदीपले दिएको भन्दै उनले खुलेर प्रशंसा गरिन् ।

‘म जस्तो सोच्थेँ उसले त्यस्तै सट पहिलो टेकमा दिएको छ,’ उनले भनिन्, ‘अरु कसरी काम गर्ने भनेर तनावमा हुँदा प्रदीप सधैँ ज्वली हुन्थ्यो । तर, छिनमै भनेको एक्सन सिनमा तयार हुन्थ्यो । ऊ त छिन मै अनअफ हुने रहेछ भन्ने मैले ‘पिताम्बर’को सेटबाट थाहा पाएँ ।’

अरु गम्भीर भइरहेका बेला प्रदीप भने ढुक्कले काम गरिरेको कृषा सुनाउँछिन् । ‘आफ्को काम सकिएपछि प्रदीप म सँग जिस्किरहेको हुन्थ्यो । हामीलाई अरुले लौन गम्भीर हुनुपर्यो गफ त पछि गरे पनि हुन्छ भन्थे,’ कृषाले सेटको प्रदीपलाई सम्झिइन् ।

कृषाले दिव्या रायमाझीले नेक्स्ट लेवलको काम दिएको बताइन् । सुरुमा केही नर्भस भए पनि पछि सोचेजस्तै काम दिव्याबाट निस्किएको उनको भनाइ छ ।

‘दिव्यालाई सुरुमा मैले जे निकाल्न खोजेको हो त्यो निस्किदैन थियो । मैले अलि हेवी भएर काम लिन खोजेकाले हो कि भन्ने भयो,’ कृषाले भनिन्, ‘तर ऊ सिरियस भएको देखेपछि सामान्य हिसाबले यस्तो हो, यसरी काम गर्ने भनेपछि नेक्स्ट लेवलको काम देखाइन् । सुरुमा उसबाट काम निकाल्न नसक्नु म नै रहेँछु भन्ने भयो ।’

दिव्याको अभिनयबाट दर्शक सन्तुष्ट हुने कृषाको दाबी छ । सिनेमामा प्रदीप खड्का, दिव्या रायमाझी, सौगात मल्ल, दयाहाङ राई, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, सुपुष्पा भट्ट, गौरी मल्ल, रविन्द्र झा, कामेश्वर चौरसिया, टीका पहारी, गौरव विष्ट, सुरवीर पण्डितलगायतको पनि अभिनय छ ।

विशाल चौलागाईं निर्माता रहेको सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद लेखन छ । कृषा चौलागाईंको निर्देशन छ ।

सुमन गौतम कार्यकारी निर्माता रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका सह-निर्माता पनि हुन् ।

यो सिनेमा नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।