द सिनेमा टाइम्स, काठमाडौं । चर्चित बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको छ । एक अज्ञात व्यक्तिले बिहीबार बिहान साढे २ बजे सैफको घरमा छिरेर चक्कु प्रहार गरेको भारतीय मिडियाले जनाएका छन् । यो घटनापछि सैफलाई मुम्बईको लीलावती अस्पताल भर्ना गरिएको हो ।
लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार सैफमाथि ६ पटक चक्कु प्रहार गरिएको छ । तीमध्ये दुईवटा घाउ गहिरो छन् । एउटा घाउ मेरुदण्डको छेउमा भएपनि सैफको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । उनीमाथि भएको घटनालाई लिएर प्रहरीले छानबिन सुरु गरिसकेको छ ।
प्रहरीका अनुसार एक व्यक्ति रातको समयमा सैफको घरमा पसेर पहिला उनको घरमा काम गर्ने महिला कामदारसँग झगडा गरेका थिए । जब ती व्यक्तिलाई सैफले सम्झाउन खोजे, त्यसबेला उनीमाथि आक्रमण भएको जनाइएको छ । सैफ परिवारसहित मुम्बईको बान्द्रास्थित सतगुरु शरण अपार्टमेन्टमा बस्ने गरेका छन् ।


प्रतिक्रिया