द सिनेमा टाइम्स, काठमाडौं । गत पौष २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘कार्साङ’को बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । बुधबार निर्माण कम्पनी यार्सा फिल्मस्ले जारी गरेको एक पोस्टरमा सिनेमाको ६ दिनको ग्रस कमाइ १ करोड ४५ लाख दाबी गरिएको छ ।
‘कार्साङ’ले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म पाएको राम्रो शोका बाबजुद पनि सुरुवाती व्यापार उत्साहजनक हुन सकेको थिएन् । मंगलबारबाट वर्ड अफ माउथका कारण सिनेमामा दर्शक बढ्न थालेको वितरक कम्पनी आरआर फिल्मस्का सञ्चालक मध्यका एक रोहित कट्टेलले जानकारी दिए । माघ १ गते अर्थात् माघे संक्रान्तिको दिन देशभर सिनेमाले ५० प्रतिशत बढि अकुपेन्सी हासिल गरेको उनको दाबी छ ।
सिनेमा प्रदर्शनको सुरुवाती दुई दिन कलाकारहरु दयाहाङ राई, सिर्जना निङलेखु र जितु नेपालले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । बुधबार निर्देशक यम शेर्पा र अभिनेत्री सिर्जना निङलेखुले पूर्वी नेपालको सुनसरीस्थित धरान पुगेर फ्रेन्ड्स सिनेमाजमा सिनेमाको हाउसफुल शोमा उपस्थित दर्शकसँग साक्षात्कार गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
शेर्पा समुदायको धर्म र संस्कृतिमा आधारित सिनेमाको कथा निर्देशक शेर्पा स्वयंले लेखेका हुन् । सिनेमामा दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको पनि अभिनय छ । सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।
‘कार्साङ’मा दयाहाङ राईले झाँक्रीको भूमिका निभाएका छन् । अभाव र दुःखबीच एउटा झाँक्री परिवारले आफ्नो जातीय संस्कृति जोगाउन गरेको संघर्षमा सिनेमा आधारित छ । दयाहाङ यही सिनेमाबाट गत असार अन्तिममा रिलिज भएको घरज्वाइँ पश्चात ६ महिनापछि ठुलो पर्दामा देखिएका थिए ।


प्रतिक्रिया