विवाह बन्धनमा बाँधिइन् चर्चित गायिका मेलिना राई

विवाह बन्धनमा बाँधिइन् चर्चित गायिका मेलिना राई

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी ध्रुव गुरूङसँग विवाह गरेकी हुन् । विवाहको तस्वीरमा दुवैलाई आ-आफ्नै जातीय भेषभूषामा देख्न सकिन्छ ।

काठमाडौंको गोकणेश्वरमा उनीहरुले विवाह गरेका हुन् । विवाहमा दुई पक्षका परिवारसहित मेलिना निकट केही संगीतकर्मीको उपस्थिति रहेको छ । मेलिना र ध्रुवले केही दिनअघि किराँत धर्मअनुसार इन्गेजमेन्ट गरेका थिए ।

इन्गेजमेन्टको तस्वीर तथा भिडियो बिहीबार बाहिरिएको थियो । इलाम स्थायी घर भएका ध्रुव ब्रिटिस आर्मी (बेलायती सेना) रहेको जनाइएको छ । मेलिना र ध्रुवले छोटो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

गायनमा लोभलाग्दो सफलता चुमेकी मेलिनाका दर्जनौं गीत लोकप्रिय छन् । उनले गाएको सिनेमा ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतमा पर्छ । यो गीतलाई युट्युबमा २१ करोड बढीले हेरेका छन् ।

मेलिना को स्वरमा रहेका ‘माया जदौ’, ‘रातो टीका निधारमा’ (रिमेक भर्सन), ‘हुकुम बक्सियोस्’, ‘अजम्बरी लाउला पिरती’, ‘कम्मरमाथि पटुकी’, ‘शिरैमा शिरबन्दी’, ‘एमजी रोडैमा’ जस्ता गीतहरु चर्चित छन् ।