द सिनेमा टाइम्स, काठमाडौं । गायक सुशान्त केसीको साढे २ वर्षपछि आगामी फागुन २४ गते अर्थात् मार्च ८ मा भक्तपुरस्थित सल्लाघारी मैदानमा कन्सर्ट आयोजना हुने भएको छ । आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनको कन्सर्टबारेमा जानकारी दिइयो ।
सुशान्त केसीको कन्सर्टको नाम ‘सुशान्त केसी लाइभ इन नेपाल’ राखिएको छ । पत्रकार सम्मेलनमा गायक केसी लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । ‘यो कन्सर्टका लागि मैले धेरै पहिलेदेखि तयारी गरिरहेको थिएँ । अन्ततः दर्शकमाझ प्रस्तुत हुने समय नजिकिँदै गर्दा उत्साहित छु’ उनले भने ।
सल्लाघारी कन्सर्टमा आफूले तयार गरेको एक नयाँ गीत रिलिज हुन सक्ने पनि उनले जानकारी दिए । यो कन्सर्टमा सुशान्तले आफ्ना हिट गीतहरू बार्दली, सारंगी, साथी, आमा, उड उडीजस्ता गीत गाउनेछन् । पछिल्लो समय नेपालमा म्युजिक कल्चरमा वृद्धि हुनुलाई उनले सकारात्मक रुपमा लिएको बताए । गायक केसीको भक्तपुर कन्सर्टलाई लिएर फ्यानमाझ उत्साह छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सुशान्तले पछिल्लो हिट गीत ‘बार्दली’लाई संक्षिप्तरुपमा गुनगुनाएका उपस्थित पत्रकारलाई सुनाएका थिए । उनको कन्सर्टमा १५००० दर्शक सहभागि हुने अपेक्षा आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक सदस्यहरूले कन्सर्टको सुरक्षा प्रबन्ध चुस्तदुरुस्त हुने र यसका लागि स्थानीय प्रशासनसँग समन्वय हुने बताए । यो कन्सर्टलाई एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सले आयोजना गर्न लागेका हुन् ।
खल्ती एपमार्फत दर्शकले कन्सर्टको टिकट खरिद गर्न सक्ने छन् । टिकट मूल्यमा साधारण तर्फको ९९० रुपैयाँ, फ्यानपिटको १४९९ रुपैयाँ र भीआइपीतर्फको २४९९ रुपैयाँ तय गरिएकाले खल्ती एपले आइतबारदेखि नै टिकट विक्री सुरु भएको समेत जानकारी दिएको छ ।


प्रतिक्रिया