द सिनेमा टाइम्स, काठमाडौं । माघ १६ गते भोली बुधबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ‘एक्टर : टेक वन’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । बलियो स्टारकास्ट र सार्वजनिक प्रचार सामाग्री गीत तथा ट्रेलरका कारण चर्चामा रहेको सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएको छ ।
सिनेमालाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा २९ र उपत्यकाबाहिर २७ गरी कूल ५६ शो दिएको छ । त्यस्तै, आइएनआइ सिनेमाजले तीन स्टेशनमा गरी १५ शो र वन सिनेमाजले दुई स्टेशनमा गरी ९ शो दिएका छन् भने काठमाडौं उपत्यकाका एफक्यूब, सिडिसी, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स र विएसआर मुभिजले समान ४/४ शो, रञ्जना सिनेप्लेक्स र विश्वज्योति सिनेप्लेक्सले समान ५/५ शो उपलब्ध गराएका छन् ।
बिग मूभिज लगायतका अन्य केही हलले पनि सिनेमाका लागि राम्रो शो उपलब्ध गराएका छन् । यससँगै यो सिनेमाले देशभरका हलमा करिब डेढ सयभन्दा बढी शो पाएको जनाइएको छ । यसैबीच सिनेमाको प्रदर्शन रोक्न भन्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर भएकाले पनि सिनेमाले पाउन पर्ने शो नपाएको बुझिएको छ । आज माघ १५ गते मंगलबार जिल्ला अदालतबाट आउने फैसलाले सिनेमा रिलिजको टुङ्गो लाग्नेछ ।
जिल्ला अदालत काठमाडौंले मंगलबार सिनेमाको रिलिज रोक्न आदेश दिएको खण्डमा मल्टीप्लेक्सहरुले अग्रीम टिकट बुकिङमा बिक्री भइसकेको टिकट सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्नेछ । जसले सिनेमाको व्यापारिक भविष्य निर्धारण गर्नेछ । यसैबीच सोमबार सिनेमाको भक्तपुरस्थित क्युएफएक्स भाटभटेनीमा भव्य प्रिमियर शो समेत आयोजना निर्माण टिमले गरेको थियो । प्रिमियर शोमा सिनेमाले सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया पाएको छ ।
राजन भुसालको निर्देशनमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । यही सिनेमाबाट राजबल्लभले १० वर्षपछि कमब्याक गरेका हुन् भने दिव्याको यो डेब्यु सिनेमा हो ।
अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।


प्रतिक्रिया