द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुनको १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मायावी’ गीत संगीतका कारण चर्चामा छ । यो सिनेमाको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा सिनेमाप्रति उत्साह देखिन्छ ।
यो सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । जसले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टूपिड मन’, ‘ड्रिम्स’, ‘क्याप्टेन’ र ‘ऐश्वर्य’ जस्ता सिनेमाको निर्देशन गरिसकेका छन् । लभ स्टोरी सिनेमा बनाउने कुरामा दिवाकर सधैं नै अगाडि छन् । तर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा दिवाकर खुशी देखिएका छन् ।
के हो त ‘मायावी’ दिवाकर भन्छन्, ‘मायावी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो । आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतिक हो ‘मायावी’ । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस् ? जो कोहीको पनि त्याग, जुनुन हुन्छ । ‘मायावी’ले यही कथा भन्छ ।’
‘दुनियाँमा प्रेम पाउनेको कथा भन्दा पनि त्याग्नेको कथा नै मजबुत हुन्छ । पीडा पाएर पनि खुशी हुने पात्रको कथा हो ‘मायावी’ । प्रेमको त्यही त्यागको कथामा हामीले सिनेमा बनाएका छौं । पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा यो सिनेमा बनाएका छौं । पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायावी हो’, दिवाकर भन्छन् ।
यसपटक दर्शकले फरक स्वादको प्रेमकथा यो सिनेमामा हेर्न पाउने उनको तर्क छ । उनले भने, ‘खुशी र सुख भन्ने फरक कुरा हो । कहिलेकाही हामी जहाँ बाँचिरहेका छौं, सुख खोज्दा खुशी हराएको हुन्छ । सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छन् र सुख अनुभुती गर्छ भन्ने कथामा यो सिनेमा बनेको छ । जीवनमा कुनै व्यक्ति नकारात्मक कुरा पनि खुशी हुनसक्छ । धनाढ्यका लागि पैसा कमाउनु खुशी होला, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुशी मिल्न सक्ला । हामीले यस्तै कथा सिनेमामा भनेका छौं ।’
दिवाकर यो सिनेमाबाट आफूलाई सन्तुष्टि मिलेको बताउँछन् । यो मैले मेरो मनबाट बनाएको सिनेमा हो । म रोम-कोम सिनेमाको निर्देशक हुँ । मैले मनदेखि भन्न खोजेको कथा हो मायावी । यो कथा भन्न सक्छु भनेर नै मैले बनाएको हो । म ‘मायावी’बाट आफ्नो करिअर सुरु भएको मान्छु । मैले यसअघि बनाएका सिनेमामा मेरो कथा थिएनँ । मैले ती सिनेमामा एउटा निर्देशकको रुपमा काम गरे होला । म कस्तो निर्देशक हुँ भनेर यसबाट भन्न चाहन्छु ।
दिवाकर आफूले सिनेमाको कथा लेख्दा कोही नायक वा नायिका दिमागमा नभएको बताउँछन् । आफ्नो दिमागमा ‘जोय’ भन्ने पात्र रहेको र उसैको सेरोफेरोमा रहेर यो सिनेमाको कथा लेखेको भट्टराइको दाबी छ । भोलिका दिनमा दर्शकले यो सिनेमालाई जस्तो रुपमा लिएपनि आफू भने निकै सन्तुष्ट रहेको बताउँछन् । व्यापार जस्तो भएपनि आफू खुशी हुने उनको भनाई छ ।
क्रिएटिभ सिने आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा पल शाह, दीपिका प्रसाई, डेव्यु अभिनेता समीम खान, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय छ ।
‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह-निर्माताको रुपमा छन् ।


प्रतिक्रिया