द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री दीपिका प्रसाईंले ‘मायावी’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताएकी छिन् । केही बर्षको अन्तरालपछि सिनेमाको पर्दामा फर्किन लागेकी दीपिकाले यो सिनेमाले आफ्नो करियरमा लागि विशेष भएको बताइन् ।
मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्-‘यो प्रोजेक्ट ५ बर्ष अगाडिदेखिको यात्रा हो । यो प्रोजेक्ट जब सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले कि त सन्तान कि त सिनेमा रोज्नुपर्ने अवस्था थियो । तर, मैले भगवानको नाम पुकारेर दुवैलाई जिताउनुपर्छ भने अगाडि बढेँ । सिनेमाको छायांकनका क्रममा निकै नै दुःख पाएकी थिएँ । तर, अहिले दर्शकको उत्साह देख्दा खुशी लाग्छ ।’
दीपिकाले सिनेमा छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको समेत बताइन् । उनले अगाडि भनिन्-‘मैले निर्देशक दिवाकर भट्टराइलाई अब यो सिनेमा म गर्न सक्दिनँ समेत भनेको थिएँ । अन्य अभिनेत्री लिनुहोस् सिनेमामा पनि भनेँ । तर, मलाई उहाँले हरेक शब्दमा तिमी छौं, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो । यसैले मैले यो सिनेमा गर्नुपर्यो ।’
दीपिकाले ‘मायाबी’ आफ्नो दोस्रो सन्तान भएको समेत बताइन् । यो ‘पागलपन’ कसको थियो, दीपिका भन्छिन्-‘यो देख्दा निर्देशककै पागलपन देखिन्छ । साथमा, हाम्रो र टिमको पनि पागलपन हो । यसैले, त यो फिल्म हलसम्म आउन सकेको छ ।’ उनले ‘मायावी’लाई ‘प्रेमको पागलपन’को कथा भनेकी छिन् ।
‘मायावी’को अर्थ के हो, दीपिकाले भनिन्-‘सिनेमामा अनेकौं तरिकाले मायावी देख्न सकिन्छ । मायावीको अर्थ सामान्य रुपमा मायाजालको रुपमा वुझिन्छ । तर, यो सिनेमामा भने मायावी भनेको आकर्षण हो भनेर देखाइएको छ ।’
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको सिनेमामा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह-निर्माताको रुपमा छन् । फागुनको १४ गतेबाट महाशिवरात्रिको अवसरमा सिनेमा दर्शकमाझ आउँदैछ ।
दिवाकर भट्टराइको निर्देशनमा निर्माण भएको यो सिनेमामा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरुको अभिनय छ ।


प्रतिक्रिया