द सिनेमा टाइम्स, काठमाडौं । फागुन २ गते शुक्रबार भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘दुःखी आत्मा’को टिजर सार्वजनिक भएपछि दर्शक आश्चर्यमा परेका थिए । जसको मुख्य कारण थियो, अभिनेता दयाहाङ राईले निवार्ह गरेको भूमिका जहाँ उनी यौन दुर्वलताको समस्याबाट पीडित पात्रमा देखिएका छन् ।
अभिनेता दयाहाङ राईको भूमिकालाई लिएर सिनेमाका प्रचार सामाग्रीमा सकारात्मक र नकारात्मक दुवै खालका प्रतिक्रिया आइरहेका छन् । तर, उनलाई उक्त भूमिका गरेकोमा कुनै पछुतो छैन । सिनेमामा काम गर्दा यो चिजले गाह्रो पार्छ भन्ने उनले सोचेनन् । बरु, उनलाई के लाग्यो भने सिनेमा मार्फत यस्तो कथा पनि भन्न आवश्यक छ । यो कथा भन्नुपर्छ भन्ने लागेर नै सिनेमा खेलेको हुँ । यसको कथावस्तु भन्नुपर्ने विषय हो ।
दयाहाङलाई धेरैले किन यस्तो सिनेमा खेलेको भनेर समेत सोध्ने गरेका छन् । यसबारेमा उनी भन्छन्, ‘साथीहरुले यस्तो सिनेमा किन खेलेको भन्नुहुन्छ । खेल्दा कस्तो लाग्यो भनेर सोध्नुहुन्छ । तर, मलाई कस्तो पनि लागेन भन्छु । यो चिज गर्नुहुन्छ वा गर्नुहुँदैन भन्ने व्यक्तिगत सोच हो । मेरो सिनेमा पहिले स-परिवार हेर्न जानुहुन्थ्यो । यसपटक छुट्टाछुट्टै भएर जानुपर्छ । त्यो हुँदा सहज पनि हुन्छ ।’
यौन स्वास्थ्यको बारेमा मानिसहरूलाई जानकारी हुनुपर्छ भन्ने अभिनेता दयाहाङ राईलाई लाग्छ । ‘मानसिक स्वास्थ्यको विषयमा हामी बल्लबल्ल खुल्न थालेका छौं,’ उनी भन्छन्, ‘यौन त हाम्रो निजी कुरा हो । यो कुरालाई हामीले अक्सर गोप्य राख्छौं । तर, यो चासोको विषय भने हो । यो विषयमा मानिसहरूलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ । छलफल कोसँग गर्ने भन्ने चाहिँ आफ्नो ठाउँमा होला ।’
दीपेन्द्र लामाको लेखन तथा निर्र्देशनमा तयार भएको सिनेमामा दयाहाङसहित आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । सुदीप ढकाल कार्यकारी निर्माता रहेको सिनेमालाई हिमाल कडरियाले निर्माण गरेका हुन् ।


प्रतिक्रिया