आम मानिसले देखेर पनि इग्नोर गरिरहेको कथा ‘रंगी’मा देखिएका छौं : सलोन बस्नेत

आम मानिसले देखेर पनि इग्नोर गरिरहेको कथा ‘रंगी’मा देखिएका छौं : सलोन बस्नेत

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सलोन बस्नेतको मुख्य भूमिका रहेको सिनेमा ‘रंगी’ पर्सी शुक्रबार अर्थान् फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । यो सलोनको डेब्यू निर्माण रहेको सिनेमा समेत हो । छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट प्रालिमार्फत सिनेमा निर्माणमा होमिएका सलोन ‘रंगी’मा बाबुको भूमिकामा देखिएका छन् ।

सलोनका अनुसार सिनेमामा दर्शकले उनलाई एक संघर्षशील बाबुको भूमिकामा हेर्न पाउनेछन् । ‘सिनेमामा म फूड डेलिभरी गर्ने पात्रको भूमिकामा छु । आफ्नी छोरीको पालनपोषण, शिक्षादिक्षा, हेरचाहमा बाबुले कति धेरै संघर्ष गर्नुपर्छ भन्ने कथा सिनेमामा हेर्न पाउनुहुनेछ’, सलोन भन्छन् । सलोनले फूड डेलिभरी गर्ने एक व्यक्ति दुर्घटनामा परेपछिको भिडियो सामाजिक सञ्जालमा देखेपछि त्यही कथामा सिनेमा देखाउन आफू प्रेरित भएको खुलाए ।

सलोन आम मानिसले हरेक दिन देखेर पनि ‘इग्नोर’ गरिरहेको कथालाई ‘रंगी’मार्फत ल्याएको दाबी गर्छन् । ‘बाटोमा हरेक दिन फूड डेभिलरी गर्ने व्यक्तिहरु देखिरहेका हुन्छौं । तर हामी वास्ता गर्दैनौं । उनीहरु भित्र पनि केही कथा होला नि भनेर हामीले त्यसैमा सिनेमा बनायौं,’ उनले भने ।

छोरी सान्भिका जन्मिएपछि आफ्नो जीवनमा केही परिवर्तन आएको सलोनको अनुभव रहेछ । छोरी जन्मिएपछि चरित्रको गहिराईमा पुग्न आफूलाई सजिलो भएको सलोनको बुझाई छ । ‘म रियल लाइफमा त्यही कुरा फिल गरिहेको थिएँ । जुन मेरो क्यारेक्टरले सिनेमामा फिल गर्छ । मलाई आयुषी र नम्रताले क्यारेक्टर स्थापित गर्न उत्तिकै सहयोग गरे’, सलोन भन्छन् ।

‘छोरी जन्मिएपछि अब चाहिँ केही फरक गर्नुपर्छ । एक स्टेप भएपनि अगाडि बढ्नुपर्छ भन्ने महसुस भयो । सधैं अभिनयबाटै कति अगाडि बढ्ने भनेर सिनेमा निर्माणमा हात हालें । आफ्नो र छोरीको भविष्यकै लागि भएपनि सिनेमा बनाउनुपर्छ भन्ने सोच आयो’, सलोन भन्छन्, ‘मलाई कन्टेन्ट बेसको कथाका सिनेमा मनपर्छ । मैले गर्न चाहेको क्यारेक्टर ‘रंगी’मा छ । कन्टेन्टसँगै समाजलाई सन्देश पनि पुगोस् भन्ने मेरो चाहना हो ।’

सलोन ‘रंगी’बाट समाजलाई प्रतिनिधित्व गर्न खोजेको बताउँछन् । ‘बाबाको इमोसन नदेखिने इमोसन हो । मेरो बाबाले कहिल्यै मलाई इमोसन देखाउनुभएन । बाबा बलियो हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ । एउटा बाबुले ऊ एक्लो हुँदा कस्तो अनुभव गर्छ, उसले कसैलाई केही देखाउन पाएको छैन । मैले सक्दिन अब भनेर भन्न पाएको छैन । समाजले तैले गर्नुपर्छ भनिरहेको छ । त्यो कति गाह्रो हुन्छ होला भन्ने रंगीको न्यारेसन छ । समाजले राम्रो हुँदा र नहुँदा कसरी हेर्छ भन्ने कथा हो,’ सलोनको भनाइ छ ।

सुरेश न्यौपानेको डेब्यू निर्देशन रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।