द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘११:५५ – डु नट ट्रस्ट एनिवन’बाट सागर खनालले अभिनय डेव्यु गर्दैछन् । लामो समयको प्रतिक्षा पश्चात ठुलो पर्दाको सिनेमामा डेव्यु गर्न पाउँदा उनी निकै उत्साहीत समेत छन् ।
सिनेमामा डेव्यु गर्नको लागि आफुले कडा मेहनत गरेको दाबी अभिनेता खनालको छ । यसअघि थुप्रै टिभिसी एड र केही म्युजिक भिडियोमा काम गरेपनि ठुलो पर्दाको यो नै पहिलो सिनेमा हो । आफ्नो सपना पुरा हुने संघारमा रहँदै गर्दा सागरमा उत्साहसँगै डर पनि उत्तिकै छ । किनभने आफ्नो पहिलो कामलाई दर्शकले कसरी लिन्छन् अनि कस्तो प्रतिक्रिया मिल्छ भन्ने डर उनमा छ ।
ओस्कार कलेजमा अभिनय नै पढेका उनलाई ठुलो पर्दाको सिनेमा ‘११:५५’ मा मुख्य भूमिकामा विश्वास गरेकोमा उनी निर्माण टिमप्रति आभार प्रकट गर्छन् । आफुने निर्माण टिमको विश्वास नटुट्ने गरी काम गरेकाले आफ्नो काम देखेर निर्माण टिमपनि खुशी बनेको क्षण सम्झन्छन् । आगामी दिनमा अझै राम्रा र चुनौती पूर्ण रोलमा काम गर्ने उनको इच्छा छ । त्यसको लागि अहिले उनी आफुलाई तयार समेत गरिरहेका छन् ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।
अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।
बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमामा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।



प्रतिक्रिया