‘राजागंज’मा महिला पात्रको बाहुल्यता रहेकाले अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा ‘पूजा, सर’ नाममा रिलिज गरियो : आशा मगराती

‘राजागंज’मा महिला पात्रको बाहुल्यता रहेकाले अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा ‘पूजा, सर’ नाममा रिलिज गरियो : आशा मगराती

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को पूर्वी नेपालको इटहरीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरूमा ‘पूजा, सर’ नामले ख्याति कमाएको सिनेमाका तर्फबाट पत्रकार भेटघाट कार्यक्रममा अभिनेत्री तथा सहायक लेखक आशा मगराती, सिनेमाका बजार संयोजक सन्देश घिमिरे र कोशी प्रदेश संयोजक विकाश बुढाथोकीको उपस्थित थिए ।

सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेत्री मगरातीले अन्तराष्ट्रिय सिनेमा महोत्सवहरूमा ‘पूजा सर’ र नेपालमा ‘राजागंज’ नामले सिनेमा प्रदर्शन गर्नुको कारण बताइन् । सिनेमाको मुख्य पात्र ‘पूजा, सर’ रहेको र उक्त पात्र कथाको पावरफुल क्यारेक्टर रहेको कारण सोहि पात्रको नामबाट अन्तराष्ट्रिय सिनेमा महोत्सवहरुमा प्रदर्शन गरिएको आशाले प्रकाश पारिन् ।

यस्तै नेपालमा परिवर्तित नाम ‘राजागंज’ रहनुको कारण सिनेमाको कथामा कल्पना गरिएको एक गाउँको नाम ‘राजागंज’ भएको र यो सिनेमा निर्माणको क्रममा पनि यही नाम जुराईएको हुनाले यही नामबाट नेपालमा प्रदर्शनको तयारी गरिएको अभिनेत्री मगरातीले बताइन् ।

यो सिनेमा नेपालमा मात्र सीमित नहोस्, संसारभरका दर्शकले हेर्न मौका पाओस् भन्ने निर्देशक दीपक रौनियार र आफ्नो उद्देश्य रहेको हुनाले संसारभरका हजारौं सिनेमाहरुबीच प्रतिष्पर्धा गर्दै ‘राजागंज’ले अन्तराष्ट्रिय प्लेटर्फम पाएको अभिनेत्री मगराती बताउँछिन् । अब नेपाल प्रदर्शनमा पनि सिनेमाप्रेमी दर्शकहरुले साथ दिनेमा उनी ढुक्क छिन् । फेस्टिभललाई मात्रै टार्गेट गरेर ‘राजागंज’ निर्माण नगरिएको आशाको दाबी छ ।

उनी भन्छिन्, ‘फेस्टिभलमा सिनेमा लगियो भने अझै प्रचार प्रसार हुन्छ, साथै हाम्रो कथा संसारलाई देखाउने मौका पनि मिल्ने भएर फेस्टिभलमा पनि सहभागी गराइएको हो ।’ सिनेमामा सशक्त महिला पात्रहरूको बाहुल्यता भएका कारण पनि अन्तराष्ट्रिय सिनेमा महोत्सवमा ‘पूजा, सर’ नामले सिनेमा प्रदर्शन गरिएको हो ।

यो सिनेमामा उठान गरिएको कथा हाम्रै समाजको कथा र हामीले देख्दै भोग्दै आएको यथार्थपरक पात्रहरू भएकाले सबैले हेर्नुपर्ने सिनेमा बनेको छ । सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।

आगामी चैत्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन्न्। सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।