द सिनेमा टाइम्स, काठमाडौं । ‘मायावी’का निर्देशक दिवाकर भट्टराईले लभस्टोरी सिनेमा अब बनाउन नसक्ने बताएका छन् । ‘मायावी’ सिनेमा हेर्ने दर्शक नै नरहेको आफूले अनुभव गरेको उनले बताएका छन् ।
अपेक्षाकृत ‘मायावी’ नचलेपछि उनले दर्शक र मिडिया दुवैबाट आफूले इन्करेज नपाएको भन्दै आफू लभस्टोरी सिनेमा बनाउन डिस्करेज भएको उनको भनाइ छ ।
सञ्चारमाध्यमले पनि लभस्टोरी सिनेमालाई सहयोग नगरेको उनको गुनासो छ । लभस्टोरी सिनेमा हेर्न पनि प्रेमिल मन चाहिने उनले बताएका छन् ।
नेपालमा अहिले सिनेमा चलाउन कि हसाउनु पर्ने कि रुवाउनुपर्ने उनको भनाइ छ । ‘अब म लभस्टोरी सिनेमा बनाउने आँट गर्दिनँ । किनकी अडियन्सले रिलेट नगर्ने र मिडियाले पनि इन्करेज नगर्ने भएपछि किन मैले सिनेमा बनाउने,’ उनले भने ।
अहिले गरिबी, पीडा र यथार्थ मात्र चलिरहेको भन्दै उनले अब लभस्टोरी सिनेमामा काम गर्न नसकिने बताए । तर सिनेमा उद्योगलाई सुन्दर बगैंचा बनाउने हो भने हरेक नजरका सिनेमा बन्नुपर्ने उनको धारणा छ । तर, यही नै अहिले नरहेको उनको भनाइ छ ।
सधैँ सोसल ड्रामा मात्रै भन्ने हो भने लभस्टोरी बनाउने निर्देशक नै आउँदा दिनमा नहुने निर्देशक भट्टराई बताउँछन् ।
‘फिलिङ्स, इमोसन, प्रेमको कथा भन्न पहिला यसलाई बुझ्न आवश्यक छ । प्रेमिल हुन आवश्यक छ, खुसी हुन आवश्यक छ । प्रेम फिल गर्नुपर्छ,’ उनी भन्छन्, ‘तर, तपाईं यो फिल गर्न सक्नुहुन्न र कुष्ठित मन, विचार लिएर लभस्टोरी फिल्म हेर्न जानुहुन्छ भने त्यहाँभित्र कहीँ पनि पाउनुहुन्न । कथामा रिलेट गर्नसक्नु हुन्न ।’
कुनै विचारबाट ग्रसित भएको व्यक्तिले लभ स्टोरी सिनेमा हेर्न नसक्ने भन्दै उनी यस्तो सिनेमा हेर्न इमोसनमा बहनसक्नुपर्ने बताएका छन् । लभस्टोरी सिनेमा हेर्न अब केही समय लाग्ने उनको भनाइ छ ।
फागुन १४ गते बुधबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका थिए ।
यो सिनेमामा कलाकार पल शाह, दीपिका प्रसाईं, समिम खान, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अंशु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ ।
ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी छ । सिनेमामा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह-निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि सिनेमामा नेम महर्जनको पनि लगानी छ ।
राजु विक्रम थापाको डीओपी रहेको सिनेमामा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र प्रविण खतिवडाको कोरियोग्राफी छ । सिनेमा ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ ।
सिनेमाको महत्वपूर्ण दृश्य समेत टिकटकमा भाइरल छन् । टिकटकमा सिनेमाको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष केही तनावमा पनि देखिएको छ ।


प्रतिक्रिया