सुशीलले ‘आउटलः दफा २१९’मा निर्वाह गरेको भूमिका नकारात्मक हो ?

सुशीलले ‘आउटलः दफा २१९’मा निर्वाह गरेको भूमिका नकारात्मक हो ?

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’ नामकै कारण चर्चामा छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो हाइप निर्माण गरेको छ । जसले निर्माण टिमलाई सिनेमाप्रति आशावादी बनाएको छ ।

मंगलबार आयोजित सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा अभिनेता सुशील श्रेष्ठले आउटल नेपाली सिनेमा क्षेत्रका लागि नयाँ नाम हो । ‘जब देशको कानुनले न्याय दिन सक्दैन, जव शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ । यो सिनेमा हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौं । यो सिनेमाबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं । यो सिनेमा रिलिज भएपछि दर्शकको मनमा एक प्रकारको छाप बस्छ भन्ने लागेको छ,’ उनले भने ।

के सुशीलले यो सिनेमामा निर्वाह गरेको भूमिका नकारात्मक हो ? अभिनेता श्रेष्ठ भन्छन्-‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो । यो सिनेमामा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ । उसलाई परिस्थितीले कानुन भन्दा बाहिर जाने अवस्था बनाउँछ । सिनेमाको कथा यही सारमा छ ।’

यो सिनेमामा अभिनेता सुशिल श्रेष्ठले भिन्न शैलीको एक्सन गरेका छन् । तर, एक्सन गर्न सहज नभएको उनको भनाई छ । सुशील भन्छन्-‘एक्सन गर्न निकै नै गाह्रो रहेछ । म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ । कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो । यो सिनेमाको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन ।’

सिनेमामा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा सुशीलले भने-‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ । त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ । तर, नयाँ अनुभव थियो रमाइलो भयो । दर्शकहरुलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ ।’

विशेषगरि एक्सन सिनेमामा चुरोट नै पिउनुपर्ने, महिलाहरुलाई होच्याएर बोल्नुपर्ने कारण के त ? यसमा त्यस्तो दृश्य छ कि छैन, पत्रकारले सोधेको यो प्रश्नमा सुशीलले भने-‘यो सिनेमाले महिलाहरुलाई माथि उठाउने काम गरेको छ । यो सिनेमाले महिलाहरुलाई नराम्रो देखाएकै छैन । महिलाहरुमा कति शक्ति छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर देखाइएको छ ।’

सुशील ‘आउटलः दफा २१९’को ट्रेलरले दर्शकबाट पाएको पोजिटिभ प्रतिक्रियाले उत्साहित छन् । साथमा, मिडियामा हिजोआज आफ्नो बिषयमा आउने हेडलाइन्स फेरिएकोमा पनि उनी दंग छन् । उनले भने–‘पहिले पहिले मेरो सिनेमा रिलिज हुने बेलामा फ्लप सुशील अब हिट होलान् त ? यो सिनेमामा चल्ला त सुशीलको स्टारडम ? जस्ता हेडलाइन्स आउथेँ । तर, अहिले फेरिएको छ । म यहाँ नै सफल भइसकेको छु जस्तो लागेको छ ।’

विक्की महर्जनको निर्देशनमा अमित अग्रहरि र निशा गुइडेको लगानी रहेको यो सिनेमाको मेकिङलाई लिएर अहिले चर्चा छ । सुशील यो सिनेमाबाट बलियो कमब्याक गर्नेमा ढुक्क छन् । सिनेमामा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियार लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमालाई साहिल खानले सम्पादन गरेका हुन् भने चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ ।