द सिनेमा टाइम्स, काठमाडौं । ‘राजागंज’ सिनेमाका निर्देशक दीपक रौनियारले आफूले आफूलाई मन लागेको कथा भनेको बताएका छन् । सिनेमाका मेकर मुख्यगरी दुई किसिमका हुने गरेको भन्दै उनले पहिलो करोडौं रुपैयाँ कमाउने र दोस्रो कथा भन्ने कुरालाई प्राथिमिकता दिने । आफू दोस्रो क्याटागोरीको मेकरमा पर्ने उनले बताए ।
राम्रो कथा भन्दा सिनेमा राम्रो बन्ने र त्यसले राम्रै कमाइ गर्ने उनको भनाई छ । ‘राजागंज’ आफूले भन्न मन लागेको कथा आफूले भनेको उनले प्रष्ट पारेका छन् । बासुरी फिल्म्ससँग सम्झौता गर्दा नै कमर्सियल एंगलभन्दा पनि राम्रो कथा भन्नुपर्छ भन्ने अन्डस्टान्डिङमा कथा लेखेको उनले बताए । राम्रो पनि र केही कमाइ गर्ने हिसाबले आफूले ‘राजागंज’ बनाएको उनको भनाई छ ।
‘राजागंज’ विश्वका थुप्रै सिनेमा फेस्टिभलमा पुगेको भन्दै यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमा पुर्याउन र चलाउन सहज हुने दीपकको तर्क छ । विभिन्न समयमा विभिन्न सिनेमा विश्वका ठूला प्लेटफर्ममा पुगेकाले नै आज नेपाली सिनेमा अमेरिका, अस्ट्रेलिया, फ्रान्स, बेलायत, क्यानडा, जापानलगायत देशमा चल्न थालेको उनको भनाई छ ।
नेपाली सिनेमाको बजार विस्तार गर्नकै लागि बलिउड सिनेमा निर्देशक अनुराग कश्यपलाई आफूले ‘राजागंज’मा कार्यकारी निर्देशकका रुपमा अनुबन्ध गराएको उनको भनाई छ । भारत नेपाली सिनेमाको ठूलो बजार भएकाले त्यहाँ नेपाली सिनेमा देखाउन सके सहज हुने र यसका लागि आफूले पहल गरेको उनले बताए । ‘त्यसैले अनुरागसँग अर्को सिनेमा गर्ने सहमति भएको छ,’ दीपकले जानकारी दिए ।
‘राजागंज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला सिनेमा महोत्सवमा स्क्रिनिङ भइसकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा सिनेमाले भन्ने देखाएको छ ।
मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा यो सिनेमाले भन्नेछ ।
आगामी चैत १ गतेबाट प्रदर्शन आउने सिनेमामा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।
यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।


प्रतिक्रिया