द सिनेमा टाइम्स, काठमाडौं । नेपाली र हिन्दी संगीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ । नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने मार्ग प्रशस्त गर्यो र यही उत्साहबीच मञ्जयाश्री अब एक चर्चित बलिउड सेलिब्रेटीका साथ नयाँ सांगीतिक प्रोजेक्टमा देखिन लागेकी छिन् ।
अब आउने नयाँ गीत पनि नेपाली र बलिउडको संयुक्त प्रस्तुतिमा हुने गायिका भट्टले बताएकी छन् । गत वर्ष अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको यो गीतमा नेपाली र हिन्दी संगीतको अनौठो संयोजन प्रस्तुत गर्दै नेपाली लोकगीत ‘झ्याइँ पार्यो मलाई रत्यौलीको झिल्केले झ्याइँ पार्यो’को प्रमुख अंशलाई समेटिएको छ ।
अमेरिकामा जन्मे–हुर्केकी मञ्जयाश्री र चर्चित बलिउड गायक देव नेगीको आवाजमा रहेको ‘झ्याइँ’ले नेपाली र भारतीय संगीतप्रेमीलाई साझा सांगीतिक यात्रामा पुर्याएको थियो । यो गीतले मञ्जयाश्रीलाई भारत र नेपालमा चिनाउन मद्दत गरेको छ । यो गीतले युट्युबमा ८ करोड ४५ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ ।
नेपाली श्रोता तथा दर्शकहरूलाई सम्बोधन गर्दै गायिका मञ्जयाश्री भनिन्, ‘झ्याइँलाई विश्वभरका नेपाली तथा भारतीय दर्शकले जसरी माया गर्नुभयो, मेरा आउँदै गरेका प्रोजेक्टलाई पनि त्यही साथ र समर्थन मिल्नेछ भन्ने विश्वास छ । म सम्पूर्ण नेपाली दर्शकलाई धेरै धेरै माया व्यक्त गर्न चाहन्छु ।’ भट्टका अनुसार आगामी प्रोजेक्ट नेपाली र बलिउड संगीतको फ्युजनलाई अझ उचाइमा पुर्याउने उद्देश्यले निर्माण गरिँदै छ ।
‘झ्याइँ’ म्युजिक भिडियोको निर्देशन बलिउडका अनुभवी छायांकार तथा निर्देशक विनोद प्रधानले गरेका हुन । उनले बलिउडका ‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपरहिट सिनेमा छायांकन गरेका थिए । प्रधानले नेपाली सिनेमा ‘कुसुमे रुमाल’, ‘सम्झना’ छायांकन गरेका हुन् । निर्देशक प्रधानले यो म्युजिक भिडियोमा काम गर्दा नेपाली र हिन्दी संगीतको फ्युजनको रूपमा निकै नयाँ र रोमाञ्चक अनुभव गरेको बताए ।
‘झ्याइँ’ मुम्बईको भव्य एम्पिरियल प्यालेसमा छायांकन गरिएको थियो । गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ र मास्टरिङ चर्चित सञ्जय लीला भन्साली तथा धर्मा प्रोडक्सनका सिनेमामा काम गरिसकेका राहुल शर्माले गरेका थिए । कोरियोग्राफी ‘पठान’ र ‘वार’ जस्ता सिनेमामा नृत्य निर्देशन गरिसकेका बोस्को सिजरले गरेका थिए ।


प्रतिक्रिया