द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २९ गते बिहिबार फागु पूर्णिमाको दिनबाट सुशिल श्रेष्ठ स्टारर सिनेमा ‘आउटलः दफा २१९’ रिलिजमा आउँदैछ । यो सिनेमालाई विक्की महर्जनले निर्देशन र अमित अग्रहरी निर्माण गरेका हुन् ।
यो सिनेमा निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै मिहिनेत गरेको निर्देशक महर्जन बताउँछन् । ‘सिनेमामा एक्सन मात्र छैन । सिनेमाले नेपालको महत्वपूर्ण बिषय उठान गरेको छ । एक्सन, ड्रामा, कमेडी, थ्रीलर सवैको मिश्रण सिनेमामा छ । यसमा हेर्नका लागि धेरै कुरा छ । दर्शकलाई यसपटक धेरै सरप्राइज हुनेवाला छ । ट्रेलरमा सबै कुरा खोलिएको छैन,’ निर्देशक महर्जन भने ।
यो कथा कसैको जीवनसँग नमिल्ने पनि निर्देशक महर्जनले दाबी गरेका छन् । ‘यो एउटा काल्पनिक कथा हो । क्यारेक्टर ग्याङस्टारकै हो । तर, यो बदला र न्यायको कथा हो । यसको कथावस्तु निकै नै गरुङ्गो छ,’ उनले भने । यता, सिनेमाका निर्माता अमित अग्रहरी पनि सबैको सोच मिलेका कारण ‘आउटलः दफा २१९’ निर्माण भएको बताउँछन् ।
‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौं, जुन भन्न आवश्यक थियो । एक्सनमा यो सिनेमाले नेपाली सिनेमा क्षेत्रमा नयाँ वेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ मलाई । मैले पैसा सोचेर सिनेमा बनाएको नै होइन । नयाँ भिजन, नयाँ विषयवस्तु भएका कारण नै लगानी गरेको हुँ,’ निर्माता अग्रहरीले भने ।
नेपालमा पछिल्लो समय बनिरहेका सिनेमा भन्दा विल्कुलै फरक सिनेमा ‘आउटलः दफा २१९’ बनेको दाबी उनले गरेका छन् । ‘हामीले एक्सन सिनेमा त हेरेका छौं तर त्यसमा फिल नै आउन सकेको छैन । आउटलले त्यो महशुश गराउँछ । दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिनु भएको छ । यो हाम्रो सफलता हो । सिनेमाले अर्को सिनेमा बनाउने पैसा उठायो भने पनि म खुशी हुन्छु,’ उनले भने ।
सिनेमाको मेकिङ, प्रस्तुति, एक्सन, कलाकारहरुको अभिनयले चर्चा पाइरहेको छ । अभिनेता सुशील श्रेष्ठको एक्सन अवतारले दर्शकलाई सरप्राइज पनि दिएको छ । यसैले, बक्स अफिसमा यो सिनेमाले सुखद कमाई गर्ने विश्वास लिइएको छ ।
सिनेमामा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियार लगायतका कलाकारहरुको अभिनय छ । सिनेमालाई साहिल खानले सम्पादन गरेका हुन् भने चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ ।


प्रतिक्रिया