द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियार निर्देशित तेस्रो फिचर सिनेमाका रूपमा आज चैत १ गतेबाट ‘राजागंज’ रिलिज भएको छ । उनले पहिलो फिचर सिनेमा ‘हाइवे’ निर्देशन गरेका थिए । दीपकले दोस्रो सिनेमा ‘ह्वाइट सन्’ निर्देशन गरेका थिए ।
तेस्रो कथानक सिनेमाका रूपमा ‘राजागंज’ निर्देशन गरेका हुन् । दीपक तीनै निर्देशक हुन्, जो नेपाली सिनेमालाई विश्व बजारका ठूला प्लेटफर्ममा पुर्याउँछन् । विश्वका ठूला प्लेटफर्म जहाँ ओस्कार अवार्ड पाउने सिनेमासमेत प्रतिस्पर्धा र स्क्रिनिङका लागि आउँछन्, त्यहाँ दीपकका सिनेमा पुग्छन् ।
त्यसैले दीपक नेपाली सिनेमालाई विश्व बजारमा घुमाउने निर्देशकका रुपमा चिनिन्छन् । दीपकको पछिल्लो सिनेमा ‘राजागंज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला सिनेमा महोत्सवमा स्क्रिनिङ भइसकेको छ । ‘राजागंज’ गत कात्तिक महिनामा एकै महिनामा ५ वटा फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
उनको ‘ह्वाइट सन्’ले भेनिस सिनेमा महोत्सव, टोरन्टो इन्टरनेसनल सिनेमा महोत्सव, बुसान सिनेमा महोत्सव लगायतमा प्रिमियर भएको थियो । त्यसबाहेक थुप्रै विश्वप्रसिद्ध महोत्सवमा पुगेको यो सिनेमाले २७ औं सिंगापुर इन्टरनेसनल सिनेमा फेस्टिभलमा ५५ हजार डलरसहित सर्वोत्कृष्ट अवार्ड जितेको थियो ।
फ्रिवर्ग इन्टरनेसनल महोत्सवमा चारवटा अवार्ड र भेनिस सिनेमा महोत्सवमा एउटा अवार्ड जितेको थियो । पाम स्प्रिङ सिनेमा महोत्सवमा पनि अवार्ड जितेको थियो । यसबाहेक इन्टरनेसनल सिनेमा महोत्सव गोल्डेन हर्समा मनोनयनमा परेको थियो ।
दीपकको पहिलो फिचर सिनेमा ६२ औं बर्लिन सिनेमा महोत्सवमा वल्र्ड प्रिमियर भएको थियो । ए–लिस्टर महोत्सवमा प्रिमियर भएको यो पहिलो नेपाली सिनेमा हो । दीपकले ‘राजागंज’ विश्वका थुप्रै सिनेमा फेस्टिभलमा पुगेको भन्दै यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमा पुर्याउन र चलाउन सहज हुने तर्क गरेका छ । विश्वका ठूला प्लेटफर्ममा पुगेकाले नै आज नेपाली सिनेमा अमेरिका, अस्ट्रेलिया, फ्रान्स, बेलायत, क्यानडा, जापानलगायत देशमा चल्न थालेको उनको भनाई छ ।
नेपाली सिनेमाको बजार विस्तार गर्नकै लागि बलिउड सिनेमा निर्देशक अनुराग कश्यपलाई आफूले ‘राजागंज’मा कार्यकारी निर्देशकका रुपमा अनुबन्ध गराएको उनले बताएका छन् । भारत नेपाली सिनेमाको ठूलो बजार भएकाले त्यहाँ नेपाली सिनेमा देखाउन सके सहज हुने र यसका लागि आफूले पहल गरेको उनले बताए । ‘त्यसैले अनुरागसँग अर्को सिनेमा गर्ने सहमति भएको छ,’ निर्देशक रौनियारले जानकारी दिए ।
मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा ‘राजागंज’ले भन्नेछ । सिनेमामा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए । सिनेमाले गत बुधबार गरिएको नेपाल प्रिमियरमा समेत तारिफ बटुलेको थियो । आजबाट प्रदर्शनमा आएको सिनेमाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमको छ ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।


प्रतिक्रिया