कस्तो छ प्रदर्शनरत सिनेमा ‘अञ्जिला’ र ‘आउटल’को व्यापार ?

कस्तो छ प्रदर्शनरत सिनेमा ‘अञ्जिला’ र ‘आउटल’को व्यापार ?

द सिनेमा टाइम्स
518
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत फागुन २९ गतेबाट प्रदर्शनमा आएका सिनेमा ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेका छन् । यी दुई सिनेमाले प्रदर्शनको दिन होलीमा सुखद् सुरुवात गरेका थिए । बिहीबार र शुक्रबार सिनेमालाई मिलेको उत्कृष्ट प्रतिक्रियाले शनिबार बक्सअफिस उत्साहजनक देखिएको थियो ।

वायोपिक सिनेमा ‘अञ्जिला’ हेर्न शनिवार नेपालभरका हलमा दर्शकको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टीप्लेक्सदेखि सिंगल थिएटरसम्म हाउसफुल शोहरू देखिएको निर्माण टिमको दाबी छ । सिनेमाको निर्माण टिम दर्शकको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छ ।

‘सिनेमा निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइन । ‘अञ्जिला’लाई दर्शकले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । सिनेमा हेरेर दर्शक भावुक भएको देख्दा हाम्रो मेहनत सार्थक भएको अनुभूति भइरहेको छ,’ निर्देशक चाम्सले भने ।

यता, बिहीबार नै प्रदर्शनमा आएको अर्को सिनेमा ‘आउटलः दफा २१९’ले पनि दर्शकको उत्साहजनक साथ मिलेको छ । शनिबार सिनेमा हेर्न हलमा दर्शकको चाप राम्रो देखिएको थियो । हलमा दर्शकको चाप देखिएपछि हल पुगेर कलाकार तथा मेकरले दर्शकसँग साक्षात्कार गरेका थिए । नयाँ टिम र नयाँ मेकर भएपनि सिनेमाको मेकिङ र एक्सनको तारिफ भइरहेको छ ।

अभिनेता सुशील श्रेष्ठ ४ वर्षपछि सिनेमामा फर्किएका थिए । सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो । तर, सुशीलले यतिबेला सबैको तारिफ बटुलिरहेका छन् । सामाजिक संजालमा पनि सिनेमा हेरेर फर्किएका दर्शक तथा सिनेमाकर्मीले सुशीलको काम र मिहिनेतको तारिफ गरिरहेका छन् ।

सिनेमामा समावेश क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् ।