‘अञ्जिला’को तीन दिनको बक्सअफिस कलेक्सन सार्वजनिक, कति कमायो ?

‘अञ्जिला’को तीन दिनको बक्सअफिस कलेक्सन सार्वजनिक, कति कमायो ?

द सिनेमा टाइम्स
385
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत बिहीबार फागुन २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘अञ्जिला’को तीन दिनको बक्सअफिस कलेक्सन सार्वजनिक भएको छ । आइतबार वितरक करण श्रेष्ठले दाबी गरे अनुसार यो सिनेमाले बिहीबार, शुक्रवार र शनिवार २ करोड ७ लाख ग्रस कलेक्सन गरेको हो ।

सिनेमाका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकबाट प्राप्त बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । रिलिजको पहिलो दिनदेखि नै सिनेमाले दर्शकको उत्साहजनक पाउँदै आएको छ । रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो सुरु भएपनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल थिए भने शुक्रवार पनि सिनेमालाई दर्शकको राम्रो साथ प्राप्त भएको थियो ।

शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भएसँगै केही शोहरू समेत थपिएको थियो र थपिएका शोहरु समेत हाउसफुल भएको निर्देशक चाम्सले बताएका थिए । सिनेमाले आइतबार पनि राम्रो व्यापार गर्न सफल भएको वितरक करण श्रेष्ठले बताए ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । सिनेमामा एन्जिला आफैंले मुख्ख भूमिकामा अभिनय गरेकी छन् । उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा सिनेमा प्रस्तुत गरिएको छ ।

सिनेमामा एन्जिलासहित प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

दर्शकको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतका शब्दले मन छोएको भन्दै दर्शकले भावुक पोस्ट गरिरहेका छन् । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना तथा गायक थानेश्वरले नै संगीत भरेका हुन् ।