द सिनेमा टाइम्स, काठमाडौं । प्रकाश सपूत धेरैजसो आफ्नै वरिपरीको कथा भन्ने सर्जक हुन् । उनका अधिकांश गीत हेर्ने हो भने हरेक गीतमा कथा हुन्छन् र ती गीतमा आफ्नै समाजको कथा हुन्छ ।
एउटै समाजमा रहेका फरक फरक कथा उनले भनिरहेका हुन्छन् । काल्पिनिक कथा भन्दापनि यथार्थपरक कथा भन्छन् । यही नै उनको विशेषता हो । गीतमार्फत कथा भन्दै आएका प्रकाश पहिलोपटक सिनेमामार्फत कथा भन्दैछन् ।
‘वसन्त’ मार्फत् उनी पहिलोपटक सिनेमाको कथा भन्न खोज्दैछन् । सिनेमामा पनि उनी आफ्नै परिपरिको कथा भन्दै छन् । आफैले देखेको र भोगेको कथा लिएर आएको बताएका छन् । कुनै एउटाभन्दा पनि समाजका धेरै कथा ‘वसन्त’मा भन्ने उनले शनिबार ट्रेलर सार्वजनिक गर्दै जानकारी दिए । आफ्नो सिनेमाका पात्रको नाम अनुसारको कथा भन्ने उनले बताए ।
पात्रको नाम जस्तो छ, सिनेमाले पनि त्यस्तै कथा भन्ने उनले बताए । जातीय विभेदको कथा मात्रै आउने हो कि भन्ने भइरहेको भन्दै प्रकाशले त्यसबाहेक धेरै कथा आउने उनले प्रष्ट पारेका थिए । समाजले जे चाहेको छ, त्यही कुरा सिनेमाले भन्ने उनले बताए । शान्ति, सपना, प्रेम, सत्यको कथा लिएर यही नाम गरेका पात्र आउने उनले बताए ।
सिनेमा ‘वसन्त’ले समाज बोल्ने प्रकाशले बताए । ‘अहिलेको नेपाली समाजमा के छ र के भइरहेको छ । समाजमा विभिन्न वर्ग र समुदाय छ । फरक फरक जाति र भाषा छ, त्यसलाई सिनेमाले देखाउनेछ,’ वसन्तका निर्देशक प्रकाश भन्छन्, ‘वसन्तको माध्यमबाट हामीले शान्ति खोज्ने प्रयास गरेका छौँ । सपना खोज्ने प्रयास गरेका छौं । प्रेम र सत्य खोज्ने प्रयास गरेका छौँ ।’
यो सिनेमामा पात्रको नाम हेर्ने हो भने शान्ति, सपना, प्रेम, सत्य छ । ‘हाम्रो समाज, भुगोल हाम्रो जीवन र समग्र विश्व नै यसकै वरिपरि घुमेको छ,’ उनले भने । हाम्रो सिनेमाको अनाउन्समेन्ट भिडियो, ट्रेलर र मैले गरेको काम हेर्दा एउटै विषय अथवा जात र छुवाछुतका विषयमा मात्रै यो सिनेमा बनेको छ कि भन्ने लाग्नसक्छ,’ उनी भन्छन्, ‘तर, त्यस्तो होइन । यी पाँचवटा पात्रमार्फत लैंगिक विभेद, बर्गीय विभेद, गरिबी, भौगोलिक विभेद, असमानता, वैदेशिक रोगजार, प्रेम, एउटै समाजबीच रहेका सानासाना कुराले सिर्जना गर्ने टकराबलाई देखाएका छौं ।
ट्रेलर सार्वजनिक कार्यक्रममा स्वस्तिमाले प्रकाशले सिनेमामार्फत समाजलाई धेरै प्रश्न गरेको बताइन् । राजनीति र नेतालाई एकदम धेरै प्रश्न गरेको उनको भनाई छ । ‘मेरा लागि यो सिनेमा विशेष छ । हरेक सिनेमा रिलिज अगाडि दर्शकले कसरी लिनुहुन्छ होला भन्ने लाग्छ,’ उनले भनिन्, ‘तर, यसमा जसरी कथा लेखिएको छ र जसरी कथा प्रस्तुत गरिएको छ । त्यसलाई दर्शकले कसरी लिनुहुन्छ भनेर उत्साहित छु ।’
स्वस्तिमाले वसन्त साँझमा ठूलो संख्यामा उपस्थित दर्शकलाई चैत २२ गते ‘वसन्त’ सिनेमा हेर्न आउन निम्तो दिइन् । सँगै बसेर सिनेमा हेर्ने बताइन् । दर्शकको साथको अपेक्षा रहेको भन्दै ‘वसन्त’लाई विशेष बनाइदिन अनुरोध गरिन् । प्रकाश आफ्नो मनमा लागेको, देखेको र भोगेको कथा चोटिलो पाराले भन्दै आएका सर्जक हुन् । गीत मार्फत् नै धेरै कुरा भन्दै आएका र दर्शकको प्रशंशा बटुल्दै आएका उनले सिनेमामा पनि त्यस्तै छाप छोड्ने धेरैको विश्वास छ ।
ट्रेलरले पनि केही कुरा देखाएको छ, जस्तै प्रेम र छुवाछुतको कुरा । जातीय भेदभावकै कारण प्रेममा परेको बाधाको कुरा । लेखक बन्न गरेको संघर्ष र माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण भोग्नु परेको चोट र त्यसको परिणाम, अहिलेकै समाजबाट परिवर्तन सम्भव नदेखेको पनि क्रान्तिकारी आन्दोलनमा होमिएको कुरा देखाएकाले ‘वसन्त’मा पनि चोटिलो पाराले कथा भनेको धेरैले अपेक्षा गरेका छन् । उनको विगतबाट यति अपेक्षा गर्न पनि सकिन्छ ।
ट्रेलरमा एउटा संवाद छ, ‘मान्छे कानुनसँग डराउँदैनन्, तर अन्धविश्वाससँग डराउँछ । अन्धविश्वास कानुनभन्दा माथि छ ।’ यसले समाजमा कुन हदसम्म अन्धविश्वास छ र त्यसको मारमा मान्छे परिरहेका छन् भन्ने देखाउँछ । यो सिनेमामा थप प्रष्टसँग आउँदा दर्शकले मन पराउनेमा प्रकाश र स्वस्तिमासँगै निर्माण पक्ष ढुक्क छ ।
सिनेमा चैत २२ गते प्रदर्शन हुँदैछ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक प्रकाशले तयार पारेका छन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ । तर, यसबाहेक पनि कथा आउने प्रकाशले बताएका छन् ।
सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । गायक तथा निर्देशक प्रकाशको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो । सिनेमाका छायांकार सुसन प्रजापति हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।


प्रतिक्रिया