निर्माताले स्वैच्छिक रुपमा घटाए ‘सिकन्दर’को रन टाइम, २६ दृश्यमा चल्यो कैंची

निर्माताले स्वैच्छिक रुपमा घटाए ‘सिकन्दर’को रन टाइम, २६ दृश्यमा चल्यो कैंची

द सिनेमा टाइम्स
294
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको सिनेमा ‘सिकन्दर’ आगामी आइतबार अर्थात् चैत्र १७ गते मार्च ३० बाट विश्वभरका सिनेमा रिलिजको तयारीमा छ । इदको अवसरमा रिलिज हुने यो सिनेमाको भारतीय सेन्सर बोर्डबाट सेन्सर पास हुँदा रन टाइम २ घण्टा ३० मिनेट थियो ।

सेन्सर पास भैसकेपछि सिनेमाको निर्माण टिमले १४ मिनेट २८ सेकेण्ड रन टाइम घटाएको छ । बलिउड मिडिया बलिउड हंगामाका अनुसार निर्माण टिमले स्वैच्छिक रुपले नै सिनेमाको रन टाइम घटाएको हो । निर्माण टिमले सिनेमाको रन टाइम बटाएसँगै पुन सेन्सर बोर्डसँग अनुमति लिएर रिलिजको लागि तयार भएको हो ।

कुनैपनि सिनेमाको एक पटक सेन्सर भएपछि सोही रन टाइम र दृश्य थप घट नगरि प्रदर्शन गर्नु पर्ने हुन्छ । तर, ‘सिकन्दर’को निर्माण टिमले स्वैच्छिक रुपमा २६ दृश्य ट्रिमिङ्ग गरेर सेन्सर बोर्डलाई जानकारी दिएको थियो । यो जानकारी पश्चात सेन्सर बोर्ड पुन सिनेमा हेरेर रिलिज अनुमति दिएको बलिउड हंगामाले समाचार प्रकाशन गरेको छ ।

एआर मुरुगादास निर्देशित सिनेमामा सलमान खान, रश्मिका मन्दना, काजल अग्रवाल र सत्यराजको मुख्य भूमिका छ । नाडियाडवाला ग्राण्डसन पिक्चरको व्यानरमा निर्माण भएको सिनेमालाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘सिकन्दर’ यस वर्षको प्रतिक्षित बलिउड सिनेमा मध्ये एक हो । सिनेमाको केही दिन अघि सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन् ।