द सिनेमा टाइम्स, काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘कर्मा’ आगामी चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउँदैछ । निर्देशक चौधरीले आफूले यो सिनेमा मार्फत् कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ निर्माण गरेको संकेत उनको छ ।
सिनेमाको केही हप्ता अगाडी सार्वजनिक टिजरमा उनले जोड दिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ले पनि यसलाई प्रष्ट पार्छ । मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो, अथवा मान्छेले जे भोग्छ र जति भोग्छ त्यो उसको कर्मकै फल हो भन्ने टिजरले देखाएको छ ।
सौरभले पनि यही नै बताएका छन् । ढिलो चाँडो मात्रै हो, मान्छेले उसले असल कर्म गरे राम्रो, खराब कर्म गरे त्यही अुनसार नराम्रो सजाय नै पाउने सौरभ बताउँछन् । जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने उनको विश्वास छ ।
‘कसैले गलत काम गरेर मबाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै दिन अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,’ सौरभको विश्वास छ, ‘यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो सिनेमा बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ ।’
आफूसँग नराम्रो गर्ने व्यक्तिलाई उसले राम्रो गर्न नसके त्यसको सजाय अर्को व्यक्तिबाट भएपनि मिल्ने उनको भनाई छ । ‘कसैले मसँग नराम्रो गर्यो भने उसलाई मैले नराम्रो गर्न नसके पनि अर्कोले उसलाई नराम्रो गरेर ब्यालेन्स गर्छ,’ उनले भने । निर्देशक चौधरीले चैत २९ का लागि सबैभन्दा पहिला आफूले रिलिज डेट लिएको समेत बताएका छन् । आफूले प्रदर्शन मिति तोक्दा अरु कुनै पनि सिनेमा नरहेको उनको दाबी छ ।
आफू छायांकनमा गएर आधा सुटिङ गरेपछि मात्रै अरूले चैत २९ मा आउने भन्दै रिलिज डेट लिएको उनले बताए । ‘कसले कहिले रिलिज हुने मिति लिए भन्दा पनि अब सबै मिलेर कसरी हलमा दर्शकलाई ल्याउने भन्नेतर्फ सोच्नुपर्छ होला,’ उनी भन्छन्, ‘एउटै मितिमा आउने नै भएपछि अब सबैले मिलेर हलसम्म दर्शक आउने वातावरण कसरी बनाउने त्यसतर्फ ध्यान दिन सकियो भने फाइदा हुन्छ ।’
सिनेमामा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशन, समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बास्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्टको रुपमा रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो । जसले गर्दा यो सिनेमा पनि दर्शक र समीक्षकको प्रतिक्षामा रहेको बुझ्न सकिन्छ ।



प्रतिक्रिया