द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा निर्देशक प्रकाश सपूतले ‘वसन्त’ पछिल्लो २० वर्षको नेपाली समाजको प्रतिविम्ब भएको बताएका छन् । नेपाली समाजको ०६२/०६३ देखि ०८०/८१ सम्मको कथा ‘वसन्त’ले भन्ने उनले बताएका हुन् । यो समयको जातीय, लैंगिक तथा वर्गीय विभेदको कथा भन्ने उनको भनाई छ ।
यो समाजको कथा भनिरहँदा ‘वसन्त’ले कसैको पक्ष र विपक्षमा लागेर कसैको पक्षपोषण र विरोध पनि नगर्ने उनको भनाई छ । सवैको कथा समेटेर समाजको वास्तविकता देखाएको उनी बताउँछन् ।
‘म हाम्रो सिनेमा नयाँ हो, अहिलेसम्म कहीँ कतै नदेखिएको, नभनेको कथा हो भनेर भन्दिनँ । तर अहिले केहीले जसरी पुरानै जातीय कथा रहेछ भनेर भनिरहनु भएको छ, त्यस्तो पनि होइन,’ उनी भन्छन्, ‘महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदन कहिल्यै नेपाली समाजका लागि पुरानो हुन्छ र ? त्यो बेला नेपाली समाज रोजगारीका लागि भोट जान्थ्यो भने अहिले अरब जान्छ ।’
आफैले भोगेको र देखेको कुरा आफूले भन्दै आएको भन्दै ‘वसन्त’मा पनि नेपाली समाजले भोगेकै कथा भनिएको बताए । राजनीतिक व्यवस्था परिवर्तन भएपनि त्यसले देखाएको परिवर्तनको आशा पनि पूरा नभएको र त्यो कुरा पनि आफूले भनेको उनले बताए ।
‘कुन पार्टीले के भन्छ भन्ने छैन । कसैलाई खुसी वा दुखी बनाउनु पनि छैन,’ प्रकाशले भने, ‘समाजमा भएको कुरा देखाउने हो, त्यो देखाउन मलाइ कसैले रोक्न सक्दैन । भोलि यो कुरा विवादमा आउला, विरोध होला भनेर म कथा भन्न छोड्दिनँ ।’ विरोध र विवाद आउला भनेर आफूलाई मन लागेको कथा भन्न नडराउने उनी बताउँछन् ।
एकाध व्यक्तिले विभेद भोग्न नपरेपनि सबैले त्यो अनुभव गर्न नपाएको कुरा सत्य भएको उनी बताउँछन् । ‘मैले अहिले तँ यस्तो भनेर विभेद भोग्नु पर्दैन होला, स्वस्तिामा खड्काले लैंगीक विभेद भोग्नु पर्दैन होला,’ प्रकाशले भने, ‘म केही दिन अगाडि रातभर निदाउन नसकेको घटना सुनाउँछु । केही दिन अगाडि मात्रै दलितको घर भनेर सिराहामा भत्काइयो । त्यो मेरो घर भत्किएन होला तर त्यो घटनाले मलाई अपमानित भएको महसुस हुन्छ ।’
यस्ता घटना छोडेर समाज यस्तो हुनुपर्छ भनेर भन्ने हो कि अहिले पनि यस्तो भइरहेको छ नि भनेर देखाउने भन्ने कुरामा आफू दोधारमा रहेको उनले सुनाए । तर भइरहेका घटना भन्न आफूलाई कसैले रोक्न नसक्ने प्रकाशको भनाई छ ।
राजनीतिबाट चाहेर पनि कोही टाढा भाग्न नसक्ने अभिनेत्री स्वस्तिमा खड्का बताउँछिन् । हरेक कुराले एक व्यक्ति राजनीतिमा ठोक्किन पुग्ने उनको भनाई छ । त्यसैले राजनीतिक विषय जोडिएर सिनेमामा पनि आउने उनले बताइन् । सामाजिक र राजनीतिक विषयसँगै आफूले नदेखेको र नभोगेको समाज र समयको कथा ‘वसन्त’ले भन्ने उनले बताइन् ।
जातीय विभेद र सशस्त्र द्वन्द्वको कथा आफ्ना लागि नौलो भएको स्वस्तिमा बताउँछिन् । नयाँ पुस्ताका लागि २० वर्षा अगाडिको समाज हेर्न र त्यही समयमा हुर्किएको पुस्ता नोस्टाल्जिया हुन ‘वसन्त’ हेर्नुपर्ने स्वस्तिमाको बुझाई छ ।
नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । ‘वसन्त’ चैत २२ गते प्रदर्शन हुँदैछ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक प्रकाशले तयार पारेका छन् ।
सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ । तर, यसबाहेक पनि कथा आउने प्रकाशले बताएका छन् । सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक प्रकाशको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो । सिनेमाका छायांकार सुसन प्रजापति हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।


प्रतिक्रिया