द सिनेमा टाइम्स, काठमाडौं । सौरभ चौधरी निर्देशित सिनेमा ‘कर्मा’को गीत सार्वजनिक भएको छ । ‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । गायक सुशान्त केसीको अफिसियल युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो ।
विपीन कार्कीलाई उपासना सिंह ठकुरीको मायामा पागल बनेको क्षणलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेवरमा छ । जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा सिनेमाको निर्माणपक्ष ढुक्क छ । एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन् ।
फेसबुक सर्ट तथा रिल्समा राखेको छोटो दृश्य नै दर्शकले मन पराएका थिए । अहिलेका युवापुस्ताले रुचाउने गीत गायक केसीले तयार पारेका छन् । सिनेमाका लागि सुशान्तले गाएको यो पहिलो गीत हो । यसअघि थुप्रै सिनेमाबाट अफर आएपनि सुशान्तले सिनेमाका गीत गाएका थिएनन् । सुशान्तले सिनेमाको पहिलो गीत, नयाँ अनुभव चैतमा छिट्टै हलमा भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विपीन र उपासना जति नै सुशान्त पनि भिडियोमा प्रस्तुत छन् । नयाँ वर्ष २०८२ को छेको पारेर सिनेमा ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो सिनेमा एकसाथ रिलिज हुँदैछ । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
सिनेमा ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।
यो सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशन, समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बास्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्टको रुपमा रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो । जसले गर्दा यो सिनेमा पनि दर्शक र समीक्षकको प्रतिक्षामा रहेको बुझ्न सकिन्छ ।


प्रतिक्रिया