‘महाभोज’को पहिलो गीत कौडा भाका ‘मख्खै परेँ’ सार्वजनिक

‘महाभोज’को पहिलो गीत कौडा भाका ‘मख्खै परेँ’ सार्वजनिक

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गते बिहीबार रिलिज हुने सिनेमा ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ । कौडा भाकाको यो गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत र ससिका राईले समेत गायनमा साथ दिएकी छन् ।

यो भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरिरहेका छन् । अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तलाई समेत भिडियोमा देखाइएको छ । आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन् ।

सार्वजनिक गीतको भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन्, जसले सिनेमाको विषय र कथालाई रहस्यमय बनाएको छ । गीतका कोरियोग्राफर मौसम हिमाली हुन् । दिनेश राउतको निर्देशनमा निर्माण भएको ‘महाभोज’को कथा, पटकथा तथा संवाद विकास सुवेदीले लेखेका हुन् ।

सिनेमामा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । किरण नेपाली कार्यकारी निर्माता तथा मनोज जोशी र सुदीप ढकाल लाइन प्रोड्युसर रहेको सिनेमालाई राजेश श्रेष्ठले खिचेका हुन् ।