प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिको कथा भन्ने ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक

प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिको कथा भन्ने ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमा २ मिनेट १६ सकेण्ड लामो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ । सिनेमाको टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिको यात्रा प्रस्तुत गरिएको छ ।

एक समय थियो, जब डायरीका पानामा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरमा कैद गरिन्थ्यो । प्रेमी-प्रेमिकाले सँगै बिताएका पल, साझा सपना र गहिरा भावना डायरीका हरफमा जिउँदै थिए । तर डिजिटल युगको उदयसँगै त्यो परम्परा धमिलो बन्दै गयो, स्मृतिहरू अब स्क्रिनमा कैद हुन्छन्, तर तिनको आत्मीयता कत्तिको बाँकी छ भन्ने प्रश्न उठ्न थाल्यो ।

यही भुलिँदै गएको समयलाई सिनेमा ‘ऊनको स्वीटर’ टिजरले पुनः जीवित गरिदिएको छ । जहाँ डायरीका पानाहरू पल्टाउँदा निस्कने पुरानो यादको सुवास अझै पनि ताजा महसुस गर्न सकिन्छ । सिनेमामा विपिन कार्की र मिरूना मगर, विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको मुख्य भूमिका रहेको छ ।

यी पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढंङले प्रस्तुत गर्ने प्रयास गरेको छ । विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका गहिराइ बुन्न खोजिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने नोकझोक र भावनात्मक टकरावलाई जीवन्त बनाएका छन् । अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रालिको निर्माणमा बनेको पहिलो सिनेमा हो । सुजन चापागाईको संगीत रहेको सिनेमालाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह–लेखन रहेको छ । सिनेमामा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ ।