प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला

प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो सिनेमालाई उच्च शो दिने देखिएको छ ।

देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले सिनेमाको ३ दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । हामीले यो समाचार तयार पार्दासम्म मोफसलमा इटहरी बाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ । अझै सिनेमा रिलिज हुने समय दुई दिन बाँकी रहेको हुँदा बुधबार र बिहीबार पनि शोहरु थपिने क्रम जारी रहनेछ ।

प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमाको एफक्युब सिनेमाज, बिग मुभिज, वन सिनेमाज, आइएनआई सिनेमाज चेन लगायतका हलले पनि अग्रीम टिकट बुकिङ खुला गर्ने तयारीमा छन् । केही मल्टीप्लेक्स लगायतका सिंगल स्क्रिनले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले अग्रीम टिकट बुकिङ खुला गरेसँगै आफुहरुले पनि बुकिङ खुलाएको जानकारी दिएका छन् । सिनेमालाई अग्रीम टिकट बुकिङका क्रममा हलले उपलब्ध गराएको शो ट्रेण्ड हेर्दा सिनेमा शुक्रबार ४ सय हाराहारी शोसहित प्रदर्शनमा आउने देखिन्छ ।

नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।