द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको गीत बाल मनोविज्ञानको भावनासँग जोडिएको छ । जसमा दुःखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द रचना तथा दिपक शर्माको संगीत र सहिमा श्रेष्ठको स्वर छ ।
यो गीतको भिडियोमा मोडलद्धय आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य देख्न सकिन्छ । उनीहरू दुवैले सिनेमाकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरिरहेका छन् । जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ । यो सँगै भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ । यसले सिनेमाको कथाको गम्भीरतालाई दर्शाइरहेको छ ।
यो सिनेमाले अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरेको निर्देशक यादव कुमार भट्टराईले बताए । यसमा मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरू बीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको उनले जनाए ।
सामाजिक विषयवस्तुमा आधारित सिनेमा निर्देशन गर्दै आएका निर्देशक भट्टराईले यसअघि सुपरहिट सिनेमा ‘झोला’ र अर्को सिनेमा ‘भोर’ निर्देशन गरेका थिए । यो सिनेमामा आयुषीसहित सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ । सिनेमाको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन् ।
मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभीको निर्माण सहकार्य रहेको ‘झिल्को’को कथा, पटकथा तथा संवाद निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर लेखेका हुन् ।


प्रतिक्रिया