द सिनेमा टाइम्स, काठमाडौं । फूर्वा छिरिङ लामाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार ललितपुरस्थित एक सिनेमा हलमा आयोजित कार्यक्रमका बीच सिनेमाको २ मिनेट ८ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
सिनेमाको सार्वजनिक ट्रेलर सिनेमाका मुख्य कलाकार सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको वरिपरी घुमेको छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमाको ट्रेलरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ । निर्देशक लामाले यो निर्माण र पोष्ट प्रोडक्सनमा मात्रै ४ वर्ष समय खर्चिएको बताए ।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक लामाले सिनेमाको कथाको माग अनुसार डिटेलमा काम गर्दा लामो समय लागेको यसबीच सिनेमामा काम गरेका ३ जना कलाकारको निधन समेत भैसकेको जानकारी दिए । सिनेमाकी संगीतकार झुमा लिम्बुले पनि निर्देशक लामाको कामबाट आफु प्रभावीत भएको बताइन् । उनले एउटा गीतको लागी मात्रै डेढ वर्ष समय दिएको समेत खुलाइन् ।
सिनेमा सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ। तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति सिनेमाको ट्रेलरमा चित्रण गरिएको छ । सिनेमाको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा सिनेमालाई एकसाथ प्रदर्शनमा ल्याउने निर्माण टिमले बताएको छ । यो सिनेमाले सन् १८ सयको दशकतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई देखाएको छ । सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।
यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले सहकार्य गरेका छन् भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा रहेको छ ।



प्रतिक्रिया