जेठ २ गते रिलिज हुने ‘के घर के डेराः घर नं २’को मर्मस्पर्शी टिजर सार्वजनिक

जेठ २ गते रिलिज हुने ‘के घर के डेराः घर नं २’को मर्मस्पर्शी टिजर सार्वजनिक

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपन्द्र के खनालको निर्देशित सिनेमा ‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेण्ड लामो टिजरले कथावस्तु प्रकाश पार्न खोजेको छ । काठमाडौंमा घर हुने र डेरामा बस्ने पात्रहरुको संघर्ष, दुःख, पीडा र वियोगको कथा सिनेमाले भन्ने टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरमा चित्रित हरेक पात्र निराश र पीडामा देखिएका छन् ।

पृथ्वीलाई डेराको रुपमा परिभाषित गरिएको टिजरमा संवादहरु मर्मस्पर्शी लाग्छन् । एउटा संवादमा भनिएको छ,‘भन्छन् मर्नेको सकिन्छ । मलाई लाग्छ माया नै हो भने त बाँच्नेको पो सकिन्छ ।’ त्यस्तै, अर्को संवाद छ, ‘जसले दुःखको कुरा मुस्कुराएर सुनाउँछ, बुझ्नु मनको घाउ भरिए पनि खत चाहिँ बाँकी छ ।’ यी संवादले सिनेमाको कथा गहन रहेको संकेत दिएको छ ।

उपन्यासकार बुद्धि सागरको लेखन रहेको सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको अभिनय छ । सिनेमाको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन तथा कार्यकारी निर्मातामा युवराज कार्की छन् ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको संयुक्त प्रस्तुति रहेको यो सिनेमा आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । सिनेमामा कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन, सञ्जय थापाको द्वन्द्व निर्देशन, केविका खत्रीको कोरियोग्राफी तथा शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । यो सिनेमाको अघिल्लो श्रृंखला २०७९ सालमा रिलिज भएको थियो ।