विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ गीत ‘काफ्ले’ सार्वजनिक

विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ गीत ‘काफ्ले’ सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतले सिनेमाको यथार्थवादी स्वाद प्रस्तुत गर्छ । गीतमा युवराज काफ्लेको शब्द रचना, झुमा लिम्बुको संगीत तथा झुमा र सुजन चापागाईको स्वर छ ।

सिनेमाको गीत सार्वजनिक कार्यक्रममा सिनेमाका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए । ‘हामी सिनेमाको जुन सपना बोकेर पाँचथर गएका थियौं, आज त्यो सपना पुरा हुन लागेको छ । यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौं,’ चौहानले भने ।

सिनेमाको कार्यक्रममा निर्देशक चौहानले म्युजिक भिडियो र सिनेमा निर्माणको भिन्नतालाई औंल्याए । ‘मैले सिनेमा बनाउँछु भनेर जुन दिन सोच राखे, त्यस दिनदेखि मेरो अगाडि यो प्रश्नको ठुलो पहाड थियो,’ उनले थपे, ‘यो दुई घण्टाको म्युजिक भिडियो होइन, यो सिनेमा नै हो भन्ने महसुस गराउन अहोरात्र खटेको छु ।’

संगीतकार तथा गायिका झुमा लिम्बूले ‘काफ्ले’ गीत उनको बाल्यकालको सम्झनासँग जोडिएको बताइन् । ‘यो गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु । काफ्लेको बारेमा गीत बनाउन खोजिरहँदा काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु संयोग हो,’ उनले भनिन् । मुन्धुम संस्कृति अध्ययनमा सक्रिय लिम्बूले गीतमा समेटिएको सांस्कृतिक गहिराइलाई अझ सशक्त बनाएकी छन् ।

गीतका गायक सुजन चापागाईले ‘ऊनको स्वीटर’ गीतको संरचना वर्णन गर्दै धेरै रङका धागाहरूलाई बटुलेर बनाएको बताए । कार्यक्रममा झुमा लिम्बू र सुजन चापागाईले यही गीतमा प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए ।

सिनेमाका प्रमुख अभिनेता विपिन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए । ‘अटो भर्ने कुरामा आफ्नै याद आउँछन् । विद्यालयमा हुँदा मैले धेरै साथीहरूलाई अटो लेखेको छु,’ उनले अनुभव सुनाए, ‘यस सिनेमामा कतिपय आफ्नै अनुभव पनि छन् ।’

अभिनेत्री मिरुना मगरले यो गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन् । ‘यो गीतसँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध छ । मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैंले काम गर्न पाएकी छु,’ मिरूनाले भनिन् । उनले यो सिनेमा निर्माणको क्रममा आफू पनि स्वीटरमा बुनिएको जस्तो अनुभव भएको बताइन् ।

आर्टमाण्डू प्रालिको पहिलो सिनेमा ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक सिनेमा हो । विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहेको सिनेमामा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।

सुजन चापागाई गीत निर्देशक रहेको सिनेमाको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् । सुरज कटुवाल सह-लेखकका रूपमा रहेका छन् । सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रंगहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको निर्देशक चौहानले बताए ।