द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराई निर्देशित सिनेमा ‘नरसिंहाः अवतार’को लागि २५ वर्ष अघि निर्माण भएको सिनेमा ‘दैव संजोग’को सुपरहिट गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ ।
आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिएको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा संगीतकार शम्भुजित बास्कोटा र रचना रिमालले स्वर दिएका छन् । गीतमा शम्भुजितकै शब्द तथा संगीत छ ।
यो गीतको ओर्जिनल भर्सनमा संगीत शम्भुजित बास्कोटा र देविका बन्दनाको स्वर थियो । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् । गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन् ।
यो गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल कलाकार एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । गीतको भिडियोलाई कविराजले गज्जबसँग कोरियोग्राफी गरेका छन् । भिडियोमा सबै कलाकारको नृत्य उत्कृष्ट छ ।
सिनेमामा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ । चन्द्र पन्तको कथा रहेको सिनेमामा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको सिनेमामा क्रियटिभ सिने आर्ट्सको लागि नेम महर्जनको लगानी छ । सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ । महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक सिनेमा भएका कारण पनि चर्चा छ ।


प्रतिक्रिया