द सिनेमा टाइम्स, काठमाडौं । विनोद पौडेल निर्देशित सिनेमा ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलर हेर्दा ‘भूठान’ सामाजिक कथावस्तुमा आधारित रहेको बुझिन्छ । भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ । जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराई भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस सिनेमाले देखाउने छ ।
पराई भूमिमा भौतिक सुख प्राप्त भएपनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’को ट्रेलरमा हेर्न सकिन्छ । परिवारमा धर्म संस्कारलाई लिएर भएको विवादले पार्ने प्रभाव छ । अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।
हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली सिनेमा हो । जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् । भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठाएको छ । सिनेमा आगामी वैशाख १२ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।
सिनेमाको निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।
सिनेमामा अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ । सिनेमालाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेका हुन् ।


प्रतिक्रिया