द सिनेमा टाइम्स, काठमाडौं । विसं. २०८१ मा नेपालमा ६२ वटा नेपाली र ८४ वटा विदेशी भाषाका सिनेमा रिलिज भए । यो तथ्याङ्कले नेपालीभन्दा विदेशी सिनेमा धेरै रिलिज भएको देखाउँछ । विदेशी सिनेमामा हिन्दी भाषा र अंग्रेजीमा भाषामा रिलिज हुने सिनेमा हुन् ।
हरेक वर्ष नेपालमा नेपाली भन्दा विदेशी भाषाका सिनेमा धेरै रिलिज हुँदै आएका छन् । विदेशी सिनेमाको संख्या धेरै भएपनि बक्स अफिसमा भने नेपाली सिनेमाले धेरै कमाए ।
२०८१ नेपाली सिनेमा उद्योगका लागि विशेष रह्यो । किन भने बक्स अफिसमा नेपाली सिनेमाको व्यापार धेरै भयो । एउटै सिनेमाले ४६ करोडभन्दा माथि कलेक्सन गर्दा नेपाली बक्सअफिस बलियो बनेर आयो ।
पुुराना ब्रान्डलाई पछि पार्दै नयाँ ब्रान्ड अगाडि आए । ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘बोक्सीको घर’, ‘घर ज्वाइँ’, ‘अञ्जिला’ जस्ता सिनेमाले बक्स अफिसमा उछाल ल्याए । ‘२ गाउँ’ले नै यसअघिको नेपाली सिनेमा उद्योगको बक्सअफिस रेकर्ड तोड्दा ‘१२ गाउँ’को रेकर्ड तोड्दै ‘पूर्ण बहादुरको सारङ्गी’ हालसम्मकै धेरै कमाउने सिनेमा बन्यो ।
‘बोक्सीको घर’ र ‘घर ज्वाइँ’ले आकर्षक कमाइ गर्दा २०८१ मा ५९ वटा नेपाली सिनेमाले एक अर्ब ६२ करोड ६३ लाख ९३ हजार ६०२ रुपैयाँ ग्रसकलेक्सन गरेका छन् । ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’को बक्स अफिस रिपोर्ट भने यसमा जोडिएको छैन ।
विदेशी भाषाका ८३ वटा सिनेमा रिलिज हुँदा ८९ करोड ५८ लाख ७१ हजार ७१४ रुपैयाँ बक्स अफिसमा ग्रसकलेक्सन भएको तथ्याङ्क छ । नेपाली र विदेशी गरी २०८१ मा नेपाली बक्स अफिसमा दुई अर्ब ५२ करोड ग्रसकलेक्सन भएको छ ।
यो वर्ष नेपाली सिनेमा समीक्षात्मक कोटीमा औसत रहे । राम्रा होलान् भनेर आशा गरिएका सिनेमाले नै निरास बनाए । थुप्रै देशका थुप्रै प्रतिष्ठित फेस्टिभलमा पुगेर नेपालमा ठूलो चर्चा कमाएका र विश्वास गरेका सिनेमाले औसत मात्रै समीक्षा पाए ।
समीक्षा औसत पाएजस्तै यी सिनेमाको बक्स अफिस पनि औसतमै सीमित भयो । ‘गाउँ आएको बाटो’, ‘राजागंज’, ‘शाम्बाला’ जस्ता धेरै आशा र भरोसा भएपनि ती सिनेमा औसत सावित भए । बरु धेरैले सुरुमा नपत्याएका ‘बोक्सीको घर’, ‘घर ज्वाइँ’, ‘खुस्मा’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘अञ्जिला’जस्ता सिनेमाले बक्स अफिसमा उछाल कमाई गरे ।
अपेक्षा धेरै गरिएका कमर्सियल सिनेमा पनि यो वर्ष खासै राम्रो ग्रसकलेक्सन गर्न सकेनन् । कन्टेन चल्यो कि स्टारडम भन्ने हो भने यो वर्ष मिश्रीत रह्यो । किन भने केकी अधिकारी, विजय बराल, एञ्जिला सुब्बा तुक्बाप्पो मुख्य भूमिकामा रहेका सिनेमा चले ।
प्रदीप खड्का मुख्य भूमिकामा रहेको ‘पुजार सार्की’ चल्यो तर ‘एक्टर : टेक वन’ चलेन । अनमोल केसीको ‘फर्की फर्की’ औसत रह्यो । विराज भट्ट र समीर भट्टको ‘१२ गाउँ’ चल्यो । दयाहाङ राई मुख्य भूमिकामा रहेका केही सिनेमा चले केही चलेनन् । त्यसैले २०८१ औसत रह्यो कन्टेन र स्टारडमका हिसावले ।
यो वर्ष नयाँ कलाकारको आगमनका हिसावले समीर भट्टबाहेक कसैले धेरैलाई आफूतर्फ तान्न सकेनन् । दिव्या रायमाझी पनि चर्चाका हिसावले पनि अगाडि नै रहिन् । तर, उनका सिनेमाले भने उनलाई धेरै साथ दिएनन् ।
२०८१ को राम्रो पक्ष नयाँ निर्देशकको आगमनलाई लिन सकिन्छ । २०८१ को वर्षैभरी नयाँ निर्देशक आफ्नो डेब्यु सिनेमा लिएर आइरहे । करिब दुई दर्जन नयाँ निर्देशकले डेब्यु गर्दा धेरैको हातमा सफलता भने हात परेन । तर ‘बोक्सीको घर’, ‘घर ज्वाइँ’, ‘खुस्मा’ नयाँ निर्देशकका सिनेमा थिए । जसले राम्रो उपस्थिति बक्स अफिसमा जनाए ।
२०८१ नयाँ कलाकार मात्रै होइन पुरानाको आगमनलाई लिएर पनि चर्चामा रह्यो । पुराना निर्देशकदेखि कलाकारसम्म फर्किने प्रयास गरे । पूजा चन्द, ऋचा घिमिरे, राजबल्लभ कोइराला, रमित ढुंगाना, शंकर घिमिरेजस्ता थुप्रै कलाकारले कमब्याकको प्रयास गरे ।
यो वर्ष आरोप प्रत्यारोप पनि चलिरह्यो । कहिले सिनेमा रिलिजको विषयलाई लिएर त कहिले साइबर सेनाको आक्रमण भन्ने विषयलाई लिएर कलाकारहरू आमनेसामने भइरहे । जो समाचारका हेडलाइन बनि नै रहे ।
यो वर्ष पनि नाफा कमाउने सिनेमाको संख्या एक दर्जनभन्दा तलै रह्यो । ५९ सिनेमाको बक्स अफिस रिपोर्ट आउँदा एक दर्जनभन्दा कमै सिनेमाले मात्रै नाफा कमाउन सके । बाँकी सबै सिनेमाका लागि २०८१ खल्लो रह्यो ।
तर, यो वर्षको सुरुवातदेखि तिहारसम्म जसरी सिनेमाले एकपछि अर्को राम्रो ग्रसकलेक्सन गरे, त्यसले सिनेमा बनाउने र दर्ता गर्नेको भने लहर नै चल्यो । तर, वर्षको अन्त्यतिर आइपुग्दा भने फेरि निरास नै हुने अवस्था आयो ।
२०८१ को सिनेमाको बक्सअफिस कलेक्सनले फेरि के प्रष्ट पार्यो भने कुन सिनेमा चल्छ र कुन चल्दैन कसैलाई थाहा हुँदैन । मेहनत र तकदिर सिनेमामा दुबै चल्छ भन्ने प्रमाणित गरेर २०८१ बिदा भयो ।
बिदा हुँदै गर्दा २०८१ सालले कहिले ब्रान्डवाला सिनेमा चल्छन्, कहिले स्टारका सिनेमा चल्छन्, कहिले छायामा परेका अन्डरडगका सिनेमा चल्छन् । तर जसका सिनेमा चले पनि नेपाली सिनेमाको बजार सानो छैन भन्ने सन्देश दिएको छ ।


प्रतिक्रिया