‘डबल ट्रिपल’का लागि २९ वर्षपछि राजु र रचनाको स्वरमा रेकर्ड गरियो ‘सम्झना बिर्सना सललल’

‘डबल ट्रिपल’का लागि २९ वर्षपछि राजु र रचनाको स्वरमा रेकर्ड गरियो ‘सम्झना बिर्सना सललल’

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक तथा निर्माण अशोक शर्मा यतिवेला सिनेमा ‘डबल ट्रिपल’को प्रि-प्रोडक्सनमा व्यस्त छन् । उनी बैशाख महिनाभित्र नै यो सिनेमाको छायांकन सुरु गर्ने गरी अहिले त्यसको तयारीमा जुटेका छन् ।

यसैबीच सिनेमाका लागि एक गीतका रेकर्डिङ्ग समेत गरेका छन् । करिब २९ वर्षअघि निर्माण भएको सिनेमा ‘ट्रक ड्राइभर’मा समावेश सुपरहिट गीत ‘सम्झना बिर्सना सललल……’लाई रिमेक गरेका छन् । यतिवेला शम्भुजित बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा उदित नारायण झा र दीपा झाको स्वर थियो ।

बिहीबार रेकर्ड गरिएको रिमेक भर्सनमा भने चर्चित गायक राजु लामा र रचना रिमालले स्वर भरेका छन् । यो गीतको रिमेक भर्सनमा संगीत भने शम्भुजित बास्कोटाको नै रहेको छ । त्यो वेलाको सुपरहिट गीत भएकाले पनि दर्शकको चाहानालाई मध्ये नजर गर्दै त्यो गीतको मर्म नमोस् भन्नेमा सजग रहँदै शम्भुजित बास्कोटा दाईलाई नै पुनः गीतको एरेञ्ज र निर्माणको जिम्मेवारी सुम्पेको निर्माता तथा निर्देशक शर्माले बताए ।

फागुन १ गतेबाट भ्यालेनटाइन डेको अवसरमा प्रदर्शनमा आउने सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय रहनेछ । सिनेमाको कथा/पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् ।

सिनेमामा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ । नगेन्द्र घिमिरे सिनेमाका निर्माण नियन्त्रक हुन् । यसैगरी सिनेमाको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा रहेका छन्।