द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराई निर्देशित सिनेमा ‘नरसिंहाः अवतार’का लागि रिक्रियट गरिएको ‘अच्छा लेकिन’ गीतले भिडियो सेयरिङ संजाल युट्यूबमा राम्रो दर्शकको साथ पाएको छ । यो गीतले युट्यूबमा रिलिज भएको दुई दिनमा १४ लाख भ्यूज पाउन सफल भएको छ । गीतले प्रतिक्रिया समेत सकारात्मक पाइरहेको छ ।
यो गीतले भ्यूजसँगै ट्रेन्डिङमा समेत उकालो लाग्ने क्रममा रहेको छ । यो समाचार पार्दासम्म गीत संगीततर्फ तेस्रो स्थानमा ट्रेन्ड भइरहेको छ । गीतको मौलिक संस्करणमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको युगल स्वर थियो भने नयाँ संस्करणमा शम्भुजित बास्कोटा र गायिका रचना रिमालको युगल स्वर छ । गीतको शब्द तथा संगीत दुवै शम्भुजितकै हो ।
यो गीतलाई दर्शकहरुले मनपराइरहेको पाइएको छ भने टिकटक रिल्सहरुमा समेत धमाधाम उलेख्य संख्यामा बनिरहेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् भने साहिल खानले सम्पादन गरेका छन् ।
यो गीतको भिडियोमा सिनेमाका मुख्ख कलाकार राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, साथै बाल कलाकार एभेलिना खड्का र समाइरा थापाले नृत्य प्रस्तुत गरेका छन् ।
एक्सन ड्रामा श्रेणीमा राखिएको यो सिनेमा जेठ ९ गते रिलिज हुँदैछ । चन्द्र पन्तको कथा रहेको सिनेमामा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाँको भिएफएक्स एवं साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन छ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यो सिनेमा क्रियटिभ सिने आर्ट्सको प्रस्तुतिमा निर्माण भएको हो । सिनेमाका लगानीकर्ता नेम महर्जन हुन् भने दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको सह-लगानी रहेको छ ।


प्रतिक्रिया