‘भूठान’बाट अभिनेताको छवि बन्नेमा हरिवंशको विश्वास

‘भूठान’बाट अभिनेताको छवि बन्नेमा हरिवंशको विश्वास


द सिनेमा टाइम्स, काठमाडौं । हरिवंश आचार्य पाँच दशकदेखि कला क्षेत्रका सक्रिय छन् । उनी विशेषगरी हास्यव्यङ्ग्यमा क्रियाशिल छन् । त्यसैले उनलाई धेरैले हास्य कलाकार भन्छन् ।

तर उनले हास्य कलाकार मात्रै होइन गम्भीर भूमिका पनि निर्वाह गरेका छन् । चलचित्र ‘महापुरुष’मा उनी हास्य कलाकारको भूमिकामा छैनन् । अन्य केही टेलिचलचित्र र सिनेमा पनि छन् जसमा उनले कमेडियनको भूमिकामा छैनन् ।

कमेडियनको भूमिकामा नभए पनि कतै नै कतै ह्युमर भने छ । त्यसैले उनलाई हास्य कलाकार भनिनु नौलो होइन । यसबाटै उनले अहिलेको छवि बनाएका हुन् ।

तर, हरिवंशलाई भने हास्य कलाकार मात्रै होइन अभिनेता भनेर मान्छेले बोलाउन भन्ने रहर छ । हास्य कलाकार मात्रै भन्दा कलाको परिधि अलि साँगुरो भयो कि भन्ने उनलाई लाग्छ ।

अभिनेता भनेर चिनिने उनेको चाहना ‘भूठान’ले पूरा गर्ने उनको विश्वास छ । त्यही भएर उनी ‘भूठान’को गम्भीर भूमिकाका लागि तयार भए ।

‘हुन त मैले महापुरुषमा पनि गम्भीर चरित्रमा काम गरेको छु । तर, त्यसमा पनि कतै न कतै ह्युमर छ । तर भूठानमा कतै पनि ह्युमर छैन,’ हरिवंश भन्छन्, ‘मलाई पनि हास्य कलाकार मात्रै भनेर बोलाउँदा अभिनेता भनेर बोलाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो रहर यो भूठानले पूरा गर्नेछ भन्ने लाग्छ । यसमा कहीँ कतै पनि ह्युमर पनि छैन ।’

आफूलाई हास्य कलाकार भएकोमा गर्व लाग्ने तर यससँगै गम्भीर भूमिकामा पनि काम गरौँ भन्ने रहर भएकाले ‘भूठान’मा काम गरेको उनले बताएका छन् ।

तीन पटक स्क्रिप्ट पढेपछि बल्ल पात्रमा घुसेको भन्दै हरिवंशले यसमा आफूले कथा मन परेकै कारण अभिनय गरेको बताए । ‘भूठान’मा मुख्य भूमिकामा हरिवंश छन् । ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । चलचित्र वैशाख १२ गते रिलिज हुँदैछ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।