द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गते रिलिज हुने सिनेमा ‘महाभोज’को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएको पारिवारिक र सामाजिक द्वन्द्वलाई प्राथमिकता दिइएको छ ।
मंगलबार सार्वजनिक टिजरमा अभिनेताद्वय खगेन्द्र लामिछानेले र दयाहाङ राईको एक संवाद छ, ‘गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ ।’ यो संवादले देखाउँछ कि सिनेमा केवल बाह्य हिंसाको चित्रणमा सीमित छैन । सामाजिक अन्याय, आर्थिक असमानता, शक्ति र संरचनाले सिर्जना गर्ने मानसिक तथा जीवन मरणको अवस्था जस्ता सूक्ष्म र गम्भीर विषय उठाउने प्रयासमा छ ।
सहकारी संस्थाको अध्यक्षको रूपमा रहेका अभिनेता राईलाई कहिले खुसी, कहिले आक्रोशित अवस्थामा देखाइएको छ । उनी कसैको घरमा खुकुरी लिएर प्रवेश गरेको दृश्य र मोटरसाइकल जलिरहेको दृश्यले कथाको तनावपूर्ण मोड देखाउँछ । अभिनेत्री गौमाया गुरुङ, जो दयाहाङकी पत्नीको भूमिकामा छिन्, पतिको आक्रोश शान्त पार्ने प्रयासमा देखिन्छिन् ।
सिनेमामा खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति-पत्नीको रूपमा देखाइएको छ । जसले पैसाको समस्याका कारण पारिवारिक तनाव खेपिरहेका छन् । अभिनेत्री मलिका महत एक रहस्यमय भूमिकामा छिन्, जहाँ उनले प्रहरीसँग आफू निर्दोष भएको बयान दिइरहेकी छन् । अभिनेता आर्यन सिग्देललाई गाउँपालिका अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ । जसले राजनीतिक तहसम्म सिनेमाको सन्दर्भलाई विस्तार गरेको देखिन्छ ।
सार्वजनिक टिजरको एक दृश्यमा देखिएको ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्यले सिनेमाको निष्कर्षतर्फ संकेत गर्छ । गणतन्त्र दिवसको मौका छोपी बिहीबार नै रिलिज हुन लागेको ‘महाभोज’को निर्देशन दिनेश राउतले गरेका हुन् । यो सिनेमाले नेपाली समाजमा विद्यमान वर्ग संघर्षलाई कथानक विषय बनाएको छ । निर्देशक राउतका अनुसार सिनेमा पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्र हो ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता हिमाल कडरिया हुन् । सिनेमामा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय देख्न पाइनेछ । राजेश श्रेष्ठले खिचेको सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।


प्रतिक्रिया