द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख १९ गते रिलिज हुने सिनेमा ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा सिनेमामा रहेको ट्रेलरले देखाएको छ ।
सिनेमा ट्रेलरको सुरुआत विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ । डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामलाई उजागर गरिएको छ । ट्रेलरमा देखाइएको कथावस्तु स्मार्टफोनको लतले निम्त्याउने विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित छ ।
सिनेमाकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जाहन्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।
सिनेमा निर्देशक यादवकुमार भट्टराईका अनुसार ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने संकटबारे दर्शकलाई सचेत गराउने प्रयास हो । यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक सिनेमा निर्देशन गरेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताए ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको सिनेमाको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । सिनेमाको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । सिनेमा जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।


प्रतिक्रिया