द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक गरिएको यो गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक चर्चित कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा भव्य सेटमा छायांकन गरिएको हो ।
गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायत चर्चित कलाकारको नृत्य देख्न सकिन्छ । गीतसँगै सिनेमाको प्रचार प्रसारलाई अझ तीव्र बनाउने उद्देश्य निर्माण टिमको हो । यसअघि सिनेमाको फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भइसकेको छ ।
रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । करिब डेढ करोड लगानी रहेको ‘हेल्लो काँशीराम’मा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायत कलाकारको अभिनय रहेको छ ।
सिनेमामा पीबी थापाको लगानी रहेको छ । निर्देशक रिम विश्वकर्माका अनुसार अभिनेत्री प्रियंका कार्कीलाई यो सिनेमामा विशेष भूमिकामा देख्न सकिनेछ । यम आलेको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।


प्रतिक्रिया