द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर तथा शब्द रचना हर्क साउदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । गीतले प्रेमको कुरा गर्छ । एक व्यक्तिले प्रेममा पर्दा गर्ने रुमानी कल्पना र मिठो प्रतिक्षा उल्लेख छ ।
सुन्दर परिकल्पना गर्दै प्रेमिको पखाईमा बसेकी प्रेमिकाको कथा गीतले भनेको छ । लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हुदयकी प्रेमिकाको कथा गीतमा छ । उता लाहुरमा रहेको प्रेमीले गाउँमा रहेकी प्रेमिकाको सम्झना गर्दै मनमा रहेको मायाले पनि आफू पूर्ण रहेको प्रसंग गीतमा उल्लेख छ ।
गीतले सिनेमाले लाहुरेको कथा भन्ने प्रष्ट पारेको छ । ‘जार’ आगामी वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार फिचर्ड छन् । भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ ।
सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथा ‘जार’मा बनेको सिनेमा हो । इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो उपन्यासमा कथाको विषय बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाले बताएका छन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बनेपनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले ‘जारी’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् । सिनेमामा सौगात मल्ल, अनुपविक्रम शाही, बलिउड अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको छ । सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
सिनेमा ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निम र्काण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनि तथा अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा रहेको छ ।


प्रतिक्रिया